
काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार ललितपुरको लबिम महलमा आयोजना गरिएको कार्यक्रममा ट्रेलर सार्वजनिक गरेको हो। उक्त ट्रेलरमा प्रेम, छलकपट र धोका समेटिएको छ।
ट्रेलरमा एकअर्कासँगको सामीप्यता, प्रेम, धोका र बदला देख्न सकिन्छ। सुरुमा प्रेम र रोमान्स देखिए पनि त्यसपछि धोका र बदलाको कथा स्पष्ट रूपमा प्रस्तुत गरिएको छ। प्रेम नपाउँदाको तनाव र त्यसले सिर्जना गर्ने घटनाक्रमलाई पनि ट्रेलरले समेटेको छ।

चलचित्रको सम्पूर्ण कथा भने अझै खुलाइएको छैन। सस्पेन्स सिर्जना गर्न ट्रेलर सफल देखिन्छ। यसमा मनोवैज्ञानिक थ्रिलरको स्वाद पाइन्छ। भिजुअल र रंग प्रयोगले चलचित्रको टोन समात्ने प्रयास गरिएको छ।
ट्रेलरमा अधिकांश कलाकारलाई देख्न सकिन्छ। मनोवैज्ञानिक थ्रिलर शैलीमा बनेको ‘द ब्ल्यू लाइट’मा बेनिशा हमाल, अर्पण थापा, आयुशमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन्। बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा रहेका छन्।

माघ १६ गते रिलिज हुने यो चलचित्रलाई बलिराम चौहानले निर्देशन गरेका हुन्। यो उनको पहिलो निर्देशन (डेब्यु) हो।
स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’को सह-निर्मातामा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन्। कार्यकारी निर्मातामा छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन्।
नरेन्द्र मैनालीकै छायांकन रहेको चलचित्रमा आकाश उखेडा मुख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर तथा दिलीप पन्त निर्माण नियन्त्रकका रूपमा रहेका छन्।










