
काठमाडौँ, १ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको हित हुनेगरी जिम्मेवारीपूर्वक काम गर्न गोरखापत्र संस्थानको नेतृत्वलाई निर्देशन दिनुभएको छ।
मन्त्रालयमा आज गोरखापत्र संस्थानका नवनियुक्त अध्यक्ष गोविन्द भण्डारी (अखण्ड) लाई नियुक्तिपत्र प्रदान गर्दै मन्त्री खरेलले इतिहास बोकेको संस्था गोरखापत्रको प्रतिष्ठा अझ बलियो हुनेगरी काम गर्न आग्रह गर्नुभयो।

सञ्चारमन्त्री खरेलले नेपाली पत्रकारिताको ऐतिहासिक संस्थाको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै देश र जनताको हितमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले गोरखापत्र संस्थानले जनआन्दोलन र सरकारको मर्म तथा भावना अनुसार सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र निर्वाचन सफल पार्ने गरी जनताको पक्षमा काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै सरकारको तर्फबाट आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नवनियुक्त अध्यक्ष भण्डारीले सरकारको प्रस्ताव स्वीकार गरी गर्भिलो इतिहास बोकेको संस्थानको अध्यक्ष बनेको भन्दै आफ्नो योग्यता र क्षमताले भ्याएसम्म संस्थानको सुधार गर्दै जनताको पक्षमा काम गर्ने प्रतिज्ञा व्यक्त गर्नुभयो।
कार्यक्रममा मन्त्रालयका सचिव राधिका अर्यालले नवनियुक्त अध्यक्ष भण्डारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पनि अध्यक्ष भण्डारीलाई स्वागत गर्न मन्त्रालयमा उपस्थित हुनुभएको थियो।
पुस २८ गतेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई गोरखापत्र संस्थानको अध्यक्षमा नियुक्त गरेको थियो। गोरखापत्र संस्थानको ऐन, २०१९ को दफा ८ को उपदफा ३ अनुसार साबिकका अध्यक्षले पाउने पारिश्रमिक, सेवासुविधा एवं अधिकारसहितको जिम्मेवारी दिइएको हो।













