
काठमाडौं — राष्ट्रिय मानव अधिकार आयोगले २०८२ भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएको मानवीय तथा भौतिक क्षति सम्बन्धमा अनुसन्धानका लागि जेनजी अगुवा रवि किरण हमाललाई उपस्थित हुन अनुरोध गरेको छ।
आयोगले माननीय सदस्य डा. लिली थापाको संयोजकत्वमा गठित अनुसन्धान समितिमार्फत घटनाको अध्ययन भइरहेको जनाउँदै, २०८२ भदौ ३० गते बिहान ११ बजे हरिहर भवन, पुल्चोकस्थित आयोगको केन्द्रीय कार्यालयमा छलफलका लागि पत्राचार गरेको हो।
छलफलमा प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचार, राहत तथा क्षतिपूर्ति, साथै राज्य पक्ष र सरोकारवाला निकायबाट भएका पहलबारे जानकारी संकलन गर्ने उद्देश्य रहेको आयोगले स्पष्ट पारेको छ।
हमालले आयोगसमक्ष उपस्थित भई आफ्नो धारणा राख्ने तयारी गरेको जनाइएको छ।













