आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण नगर्न अभिमुखीकरण कार्यक्रम

-


     हिडन खबर    
     पौष २६ गते २०८२ मा प्रकाशित


बागलुङ पुस २६
प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङको आयोजनामा आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण तथा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। अस्पताल तथा विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र औषधि पसलमा कार्यरत व्यक्तिहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्माले आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण नियन्त्रण ऐन, २०४९ तथा नियमावली, २०५१ का प्रावधान, कसुरको सूचना र अनुसन्धानसम्बन्धी व्यवस्थाबारे जानकारी गराउनुभयो। उहाँले ऐनको पालना गर्दै आमा र शिशुको स्वास्थ्य अधिकार प्रवर्द्धन गर्न सबैलाई आग्रह गर्नुभयो।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङका प्रमुख प्रविण शर्माले बजारमा जार तथा प्याकेटमा आमाको दूधको प्रतिस्थापनका रूपमा विभिन्न आहार र खाद्यपदार्थ बिक्री–वितरण भइरहेको पाइएकाले यस्तो अभ्यास रोक्न आवश्यक रहेको बताउनुभयो।

आमाको दूधमा शिशुका लागि आवश्यक सबै प्रकारका पोषण तत्त्व पाइने, यो अत्यन्तै पोषिलो तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने महत्वपूर्ण आहार भएकाले यसको विकल्पका रूपमा कुनै पनि खाद्यपदार्थ, आहार वा बजारमा पाइने दूध हुन नसक्ने उहाँको भनाइ थियो।

उहाँले विभिन्न औषधि पसल तथा अन्य पसलहरूमा विभिन्न ‘ब्रान्ड’का आमाको दूध प्रतिस्थापन गर्ने वस्तुहरू प्रदर्शन गर्ने तथा सामाजिक सञ्जालमार्फत ती वस्तुहरूको प्रवर्द्धन भइरहेकोतर्फ पनि ध्यानाकर्षण गराउनुभयो।
कार्यक्रममा जनस्वास्थ्य निरीक्षक सङ्गीता घिमिरेले आमाको दूधको महत्वबारे जानकारी गराउनुभयो।

उहाँले शिशुलाई पूर्ण रूपमा स्वस्थ बनाउन आमाको दूध पर्याप्त मात्रामा खुवाउनुपर्ने उल्लेख गर्दै कतिपयले दूध आएन भन्ने बहानामा बजारको दूध खुवाउने गरेको पाइएकाले यस्तो अभ्यास पूर्ण रूपमा रोक्नुपर्ने बताउनुभयो।

कार्यक्रम प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङका प्रमुख प्रविण शर्माको अध्यक्षतामा तथ्याङ्क अधिकृत घनश्याम सापकोटाको स्वागत मन्तव्य र जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो।