सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य गराइनुपर्छः सञ्चारमन्त्री खरेल

-


     हिडन खबर    
     पौष २५ गते २०८२ मा प्रकाशित


काठमाडौँ, २५ पुस — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) अनिवार्य रूपमा लागू गर्न सूचना प्रविधि विभागलाई निर्देशन दिनुभएको छ।

सूचना प्रविधि विभागमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खरेलले सरकारी सेवा प्रवाहलाई चुस्त, प्रभावकारी र पारदर्शी बनाउन कागजरहित प्रणाली आवश्यक रहेको बताउनुभयो। उहाँले हालको कार्यकालमै सबै मन्त्रालयमा जिआइओएमएस लागू गर्न आग्रह गर्दै यसले सुशासन र सेवा प्रभावकारिता बढाउने उल्लेख गर्नुभयो।

अहिले अर्थ मन्त्रालय र सञ्चार मन्त्रालयमा जिआइओएमएस लागू भइसकेको छ। सरकारी कामकाजलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सरल, छरितो र मितव्ययी बनाउने उद्देश्यले यो प्रणाली सुरु गरिएको हो।

सूचना प्रविधि विभागद्वारा विकास गरिएको प्रणालीमार्फत तोक आदेश, टिप्पणी निर्णय, चिठीपत्र दर्ता–चलानी, हाजिरी, बिदा, काज स्वीकृति तथा अभिलेख व्यवस्थापन विद्युतीय रूपमा गरिने व्यवस्था छ।

मन्त्री खरेलले आगामी निर्वाचनपछि संसद् र सरकारमा युवाको उल्लेखनीय सहभागिता रहने विश्वास व्यक्त गर्दै यसले सूचना प्रविधि क्षेत्रको विकासमा सकारात्मक योगदान पुग्ने बताउनुभयो।