‘मिरमिरे’को ट्रेलर सार्वजनिक : त्रिकोणात्मक प्रेम र बाबुछोरीको भावनात्मक कथा

-


     हिड्न मनाेरन्जन खबरदाता     
     पौष २२ गते २०८२ मा प्रकाशित


काठमाडौं । चलचित्र ‘मिरमिरे’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण पक्षले आज काठमाडौंमा आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरेको हो ।

सार्वजनिक ट्रेलरले बाबु र छोरीबीचको गहिरो भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको छ । श्रीमतीविहीन घर, आमाविहीन सन्तान र जीवनसाथी गुमाउँदाको पीडाले पुरुषको जीवन कति रित्तो हुन्छ भन्ने भाव ट्रेलरमा मार्मिक रूपमा प्रस्तुत गरिएको छ ।

त्रिकोणात्मक प्रेम कथालाई समेटेको ट्रेलरमा आमा नभएकी छोरीको हेरचाह गर्दै आएको बाबु र छोरीबीचको आत्मीय सम्बन्ध देखाइएको छ । आमाले छोरीलाई छोडेर गएपछि छोरीले भोगेको अभाव र त्यसले पार्ने मानसिक प्रभावले सन्तानका लागि आमाको महत्व कति ठूलो हुन्छ भन्ने सन्देश दिएको छ ।

ट्रेलरमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु र शाइसा गौचनलगायत मुख्य कलाकारहरू देखिन्छन् । दयाहाङ, सिर्जना र प्रकाशबीचको त्रिकोणात्मक प्रेम कथाले कथालाई थप रोचक बनाएको छ । आमाको अभाव महसुस गरिरहेकी छोरीलाई मातृत्व प्रदान गर्न बाबुले गर्ने संघर्षले दर्शकलाई भावुक बनाउने देखिन्छ ।

एक–अर्कोलाई पाउने चाहना कसरी क्रमशः उजागर हुँदै जान्छ, त्यो भावनात्मक रूपमा कसरी व्यक्त हुन्छ, नुमा आफ्नी आमा वास्तविक आमा नभएको थाहा पाएपछि देखाउने प्रतिक्रिया र सत्य पत्ता लगाउन उसले गर्ने संघर्ष ट्रेलरमा समेटिएको छ ।

यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘मिरमिरे’ माघ १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको चलचित्रका सह–निर्मातामा गोविन्द बोहरा र सुदीप कुँवर छन् । कार्यकारी निर्माताको रूपमा आरआर फिल्म्सका सञ्चालक तथा चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप आर्टिस्ट र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।
चलचित्र ‘मिरमिरे’ को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।