चन्द्रागिरिका भक्तलाल श्रेष्ठ सहित काठमाडौं–१० मा एमालेबाट ११ जना सिफारिस

-


     हिड्न खबरदाता    
     पौष २२ गते २०८२ मा प्रकाशित


काठमाडौं, पुस २२

फागुन २१ गते हुन गइरहेको आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले काठमाडौं क्षेत्र नम्बर १० बाट ११ जना उम्मेदवार सिफारिस गरेको छ।

प्रतिनिधि सभाको निर्वाचनको लागि १६ जनाले टिकटको दाबी गरेपछि पार्टीको क्षेत्रीय कमिटीको विस्तारित भेलाले पाँच जनाको नाम फिर्ता भएसँगै ११ जनाको नाम जिल्ला कमिटीको राय–सुझावसहित प्रदेश कमिटीमा पठाएको हो।पठाएको नामहरूकाे अन्तिम निर्णय भने केन्द्रीय कमिटीले गर्नेछ।

चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिकाका क्षेत्र समेटिएको यस निर्वाचन क्षेत्रमा चन्द्रागिरिबाट दुई जना नेताहरू सिफारिस भएका छन्। उनीहरूमा चन्द्रागिरि नगरपालिका–०५ आकाशटोलका भक्तलाल श्रेष्ठ र चन्द्रागिरि नगरपालिका–०४ थानकोटका विनोद श्रेष्ठ छन्।

भक्तलाल श्रेष्ठ काठमाडौं जिल्ला कमिटीका सल्लाहकार, राष्ट्रिय जनसांस्कृतिक महासंघ काठमाडौं जिल्ला अध्यक्ष तथा पार्टीका विभिन्न संगठनात्मक जिम्मेवारीमा सक्रिय छन्।विभिन्न सामाजिक संघसंस्थामा सक्रिय श्रेष्ठ आसन्न प्रतिनिधि सभाको निर्वाचनमा टिकटकाे लागि सक्रिय भएर लागि परेका छन् ।

एमाले क्षेत्रीय कमिटी बैठकले प्रत्यक्षतर्फका उम्मेदवारका रूपमा हिमेश के.सी.को नाम पनि सिफारिस गरेको छ। उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यसै क्षेत्रबाट उम्मेदवार बनेका थिए।

यस्तै, डा. सुरेन्द्र मानन्धरलाई पनि आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। उनी गत स्थानीय तहको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयर पदमा पराजित भएका थिए।

एमालेबाट काठमाडौं–१० मा सिफारिस हुने अन्य नेताहरूमा सरस्वती रिजाल खड्का, केशरत्न बज्राचार्य, बटुकृष्ण थापा, सर्वकुमार महर्जन, रुपेश बास्कोटा, सूर्यबहादुर बुढाथोकी र सुमन पोखरेल रहेका छन्।

सिफारिस भएकामध्ये दुई जना चन्द्रागिरि नगर क्षेत्रका र बाँकी नौ जना कीर्तिपुर क्षेत्रका हुन्। दक्षिणकाली क्षेत्रबाट भने आकांक्षीहरूले नाम फिर्ता लिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।