
लेखनाथ । कविराज रोमीणि जन्मजयन्तीका तृतीय वार्षिक कार्यक्रम आइतबारदेखि सुरु भएको हो।
कविराज रोमीणि लेखनाथ पौड्यालको १५८ औँ जन्मजयन्ती तृतीय वार्षिक रूपमा विभिन्न कार्यक्रमसहित सम्पन्न गर्ने लक्ष्य राखिएकोमा आइतबार लेखनाथ काव्य परिचर्चा, खुला कविता प्रतियोगिता तथा विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएका छन्।
लेखनाथ लायन्स क्लबका अध्यक्ष लायन बोधराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले कार्यक्रममा स्वागत गर्दै लेखनाथका कविता सुनाए।
प्रमुख आमन्त्रित व्यक्तित्व नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका पूर्व कुलपति साहित्यकार सरुभक्तले कवि लेखनाथका काव्य परिचर्चा गरेका थिए। कार्यक्रममा लेखनाथका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकमा विद्यावारिधि गरेका डा. बोधराज ढकाल, संस्कृत क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख डा. जगन्नाथ रेग्मी, साहित्यकार नारायण मरासिनी लगायतले लेखनाथका काव्यका चर्चा गरेका थिए।
तृतीय वार्षिक कार्यक्रम अन्तर्गत पुस १४ गते कविराज रोमीणि जन्मस्थल सरसफाइ, पुस १५ गते अर्चलेमा मूल समारोह हुने छ। कार्यक्रमका लेखनाथ उद्योग वाणिज्य सङ्घ, लेखनाथ पत्रकार मञ्च, लेखनाथ लायन्स क्लब, आमासमूहहरू, युवा क्लब, बेगनास ताल बस सञ्चालक समिति सह–आयोजक रहेका छन्।
विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगितामा लक्ष्मी आदर्शकी मनीषा खनाल प्रथम, रिलायन्स पब्लिककी निष्ठा भट्टराई द्वितीय, लिटल फ्लावरकी सुदिक्षा पौडेल र जेसीएसकी सुरक्षा बरालले तृतीय स्थान हासिल गरेका थिए।
यसैगरी राष्ट्रियस्तरीय खुला कविता प्रतियोगितामा छन्दतर्फ रामलाल सुदन प्रथम, प्रेमनारायण ढकाल द्वितीय, गिरीश पाण्डेय र कृष्णप्रसाद पौडेलले तृतीय स्थान हासिल गरेका थिए। गद्यतर्फ केनिका गिरी प्रथम, मदनकान्त पोखरेल द्वितीय र सुदीना पौडेलले तृतीय स्थान हासिल गरेका थिए। लेखनाथका विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले शुभकामना मन्तव्य समेत राखेका थिए।














