पोखरा सडक महोत्सवको सांगीतिक उत्सव ‘न्यू इयर इभ’ मा उज्ज्वल शाक्य पनि गुन्जिने

-


     हिडन खबर    
     पौष १० गते २०८२ मा प्रकाशित


पोखरा, पुस —१०
पोखरा सडक महोत्सवअन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा भाइरल गायक उज्ज्वल शाक्य पनि गुन्जिने भएका छन्।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराको आयोजनामा पोखराको लेकसाइड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको न्यू इयर इभ विशेष कार्यक्रम ‘हिट्स अफ नाइन्टिज’ अन्तर्गत पुस १६ गते बेलुका न्यू इयर इभमा अहिलेका भाइरल उज्ज्वल श्रेष्ठको ब्याण्डले लाइभ प्रस्तुति दिने रेबान नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए। उनले ‘बेबी’, ‘राजमती चा’, ‘लुमन्ती’, ‘कुमारी’, ‘मतिनाया स्वाहा’, ‘लिक्कलिक्क’ लगायतका गीतहरू गुन्जाउने बताए।

सो दिन न्यू इयर इभमा एक्स नेपथ्य पनि गुन्जिनेछ। तीन दशकपछि पोखरामा गुन्जिने सो ब्याण्डका स्थापनाकालीन गायकहरू रविन श्रेष्ठ र गौतम गुरुङले लाइभ ब्याण्ड प्रस्तुति दिनेछन्। जहाँ रविन श्रेष्ठले ‘छेक्यो छेक्यो देउराली डाँडा हुरी’, ‘कुहिरोले’, ‘आँगनै भरी’, ‘नक्कली कान्छी’ लगायतका गीतहरू प्रस्तुत गर्नेछन्। त्यस्तै, गौतम गुरुङले ‘जोमसोमै बजार’, ‘गण्डकीको तिरैमा’, ‘झरीले रुजेको आकाश’, ‘यालिङ कहाँ खस्यो’ लगायतका चर्चित प्रस्तुति गर्नेछन्।

न्यू इयर इभको साँझमा नेपथ्यसँगै डी–मर्चा, लोकाली, देउराली र उज्ज्वल शाक्यले लाइभ ब्याण्ड प्रस्तुति दिनेछन्। सो दिन अहिलेकी भाइरल डान्सर क्याट्रिन क्रुजकी आस्मा विश्वकर्माको विशेष प्रस्तुति रहनेछ। न्यू इयर इभलाई स्पेसल बनाउन उनले अहिलेको भाइरल ‘छिकीरी छिकीरी’ लगायतका गीतहरूमा डान्स प्रस्तुति दिनेछिन्।

पोखरा कोमागाने पार्कमा हुने कार्यक्रमअन्तर्गत पुस १५ गते साँझ चर्चित ब्याण्डहरू स्वप्न सुमन र केहर एन्ड द लुङ्गाले लाइभ ब्याण्ड प्रस्तुति दिनेछन्। सो साँझ स्वप्न सुमनले ‘जे छौं तिमी’, ‘कसरी भनुँ तिमीलाई’, ‘बाचा भयो’, ‘म तिम्रो’ लगायतका चर्चित गीतहरू प्रस्तुत गर्नेछन्। त्यस्तै, केहर एन्ड द लुङ्गाले ‘संसार’, ‘तिमीलाई सम्झेर’, ‘बैगुनी’, ‘तिमी बिना’ लगायतका गीतहरू गुन्जाउनेछन्।

सो दिन क्रसफायर ब्याण्ड पनि ब्लास्ट हुनेछ। सो दिन दिउँसो भने प्रीति आले, देउराली ब्याण्डका पुराना गायक आनन्द बज्राचार्य र सन्तोष बस्यालको प्रस्तुति रहनेछ भने दिवा कार्यक्रमतर्फ लोकदोहोरी गायकहरू पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेललगायतको प्रस्तुति रहने उनले बताए।

त्यस्तै, पुस १४ गते अन्तरविद्यालय खुला नृत्य प्रतियोगिता हुनेछ भने दिउँसोदेखि साँझसम्म इन्टर स्कूल ब्याण्ड कम्पिटिसनको उपाधि विजेता तथा उपविजेताहरूको सांगीतिक प्रस्तुति रहने जनाइएको छ।