
काठमाडौँ, २७ मंसिर
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई बेवास्ता गरेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपुरो हुने बताउनुभएको छ।
राष्ट्रिय युवा परिषद्द्वारा शुक्रबार आयोजित ‘सामाजिक जवाफदेहिता : मिडिया र युवा संवाद’ विषयक कार्यक्रममा बोल्दै मन्त्री खरेलले गत भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनलाई सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामार्फत जनआन्दोलनको मान्यता दिइसकिएकाले त्यसलाई कसैले पनि नजरअन्दाज गर्न नहुने स्पष्ट पार्नुभयो।

“अबको समय मात्रै होइन, हिजो र भोलिको समय पनि युवाकै हो। युवाले केही गर्न सक्दैनन् भन्ने भ्रम जेनजी आन्दोलनले तोडिदिएको छ। युवाले परिवर्तनका लागि बलिदान दिन सक्छन् भन्ने कुरा प्रमाणित भएको छ,” नेपाल सरकारका प्रवक्ता खरेलले भन्नुभयो।
“हरेक चरणका आन्दोलनमा युवाको भूमिका रहँदै आएको छ। युवाले चाहेमा २७ घण्टामै कायापलट हुन सक्छ भन्ने उदाहरण देखियो। तर यसपटक जेनजी सरकारमा आउन चाहेनन्। त्यसकारण यो निस्वार्थ आन्दोलन हो। उनीहरूले सत्ता होइन, सुशासन र रोजगारीको माग मात्र गरे।”
मन्त्री खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद अपुरो हुने उल्लेख गर्दै युवाहरू नेतृत्वमा आउन सक्दैनन्, उनीहरू दास वा हनुमान मात्र बन्ने हुन् भन्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउनुभयो। “एउटै नेतालाई ३०–३५ वर्षसम्म दास बनेर बस्न युवा बाध्य हुनुपर्छ ?” भन्दै उहाँले प्रश्न गर्नुभयो।

उहाँले नेपाली राजनीतिमा अब युवाको दबदबा बढ्दै जाने र त्यसलाई कसैले रोक्न नसक्ने दाबी गर्नुभयो। “अब हरेक राजनीतिक दल युवालाई नेतृत्वमा ल्याउन बाध्य हुनेछ। नेपालको वर्तमान अवस्थाले युवा र राजनीतिमा उज्ज्वल भविष्य देखाइरहेको छ,” उहाँले भन्नुभयो।
मन्त्री खरेलले आगामी दिनमा हुने राजनीतिक दलका महाधिवेशन तथा फागुन २१ गते हुने चुनावमा कति प्रतिशत युवाले टिकट पाउँछन् भन्ने आधारले ती दल कति युवामैत्री छन् भन्ने देखाउने बताउनुभयो। उहाँले युवाहरू अब कुनै वादका बन्दक नभई अधिकार लिने र देश निर्माणको अभियानमा लाग्नुपर्नेमा जोड दिनुभयो। सञ्चार क्षेत्रले पनि यस आयामलाई आत्मसात् गर्नुपर्ने उल्लेख गर्दै परिवर्तनको यात्रामा सरकार सञ्चार क्षेत्रसँगै रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा राष्ट्रियसभाकी सदस्य एवं जनसङ्ख्या तथा विकासका लागि संसदीय सञ्जालकी महासचिव गङ्गाकुमारी बेलबसेले युवालाई समस्या होइन, समाधान, ऊर्जा र नवप्रवर्तनका रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो।
परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवा र मिडियाको सम्बन्धलाई जवाफदेहितासँग जोडेर अघि बढ्नुपर्नेमा जोड दिँदै नीतिगत तहमा युवाको प्रभावकारी सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो। युवा तथा खेलकुद मन्त्रालयकी सहसचिव मनिता श्रेष्ठले शिक्षा र रोजगारीमार्फत सक्षम जनशक्तिको सदुपयोग गरी राज्यलाई बलियो बनाउनुपर्ने बताउनुभयो।
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या विकाससम्बन्धी निकाय (यूएनएफपीए) का नेपाल प्रतिनिधि श्रीराम हरिदासले मिडिया, युवा र जवाफदेहितासम्बन्धी संवादलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो। नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले जेनजी आन्दोलनका क्रममा सञ्चारकर्मीमाथि भएको भौतिक आक्रमणले मिडियाप्रति असन्तोष देखिएको भन्दै सामग्रीमा पुनः विचार गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा पत्रकारिताका अध्यापक डा. जगत नेपाल, लेखनाथ पाण्डे, सञ्चारकर्मी टीकाराम यात्री तथा जेनजी प्रतिनिधि राजेन्द्र अधिकारीलगायतले सत्य र तथ्यका आधारमा युवा र मिडियाबीचको अन्तरसंवाद बढाउन आग्रह गर्नुभयो। परिषद्का सदस्यसचिव गेहनाथ गौतमले नयाँ परिवेशमा युवालाई समेटेर राष्ट्रलाई दिशाबोध गराउने उद्देश्यले संवाद कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।













