तरङ्ग’ मार्फत ठूलो पर्दामा डेब्यू गर्दै बरुण अधिकारी

-


     हिड्न खबरदाता     
     मंसिर २० गते २०८२ मा प्रकाशित


काठमाडौं । मोडलिङबाट चर्चामा आएका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्न लागेका छन्। अभिनेता प्रदीपकुमार चौधरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘तरङ्ग’ मार्फत उनले फीचर फिल्ममा प्रवेश गर्दै छन्।

एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका बरुण पहिलोपटक चलचित्रमार्फत दर्शकमाझ आउन पाउँदा उत्साहित देखिएका छन्। फिल्मको कथा, पात्र र निर्देशकले गरेको विश्वासका कारण आफू ‘तरङ्ग’मा जोडिएको उनले बताए।
“मेरो भूमिका शक्तिशाली छ। टिमले गरेको भरोसा मिहिनेतले उतार्नेछु,” बरुणले भने। आफ्नो पात्रप्रति दर्शकले रुचि देखाउनेमा उनी विश्वस्त छन्।

चलचित्रको पटकथा स्वयं निर्देशक चौधरीले लेखेका हुन्। मनोरम प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको यस फिल्मका निर्माता सुजन राई र तर्कराज जोशी रहेका छन्। ‘सुपरन्याचुरल लभ स्टोरी’ जनरामा तयार भइरहेको ‘तरङ्ग’को छायांकन इटहरी, धरान, बेलबारी, चतरा, चितवन, बुटवल, पोखरा र भेडेटारलगायत स्थानमा गर्ने योजना छ। हाल केही दिनदेखि बेलबारीमा छायांकन भइरहेको छ।

करीब २ करोड रुपैयाँ बजेटमा निर्माण भैरहेको यस चलचित्रमा बरुणसँगै रविना केसी, बारत लिम्बु, कृष्ण थापा, सारा राई, उजल राई र उत्तम गुरुङलगायत कलाकारले अभिनय गर्नेछन्। चलचित्रका छायाकार महेश पौडेल हुन् भने निर्माण नियन्त्रकमा रिजन परियार छन्।

खलनायकका विविध भूमिकाबाट पहिचान बनाएका निर्देशक चौधरी लामो समयदेखि मण्डला नाटकघरसँग आबद्ध छन्। उनी पछिल्लो पटक ‘वरिष्ठ बलराम’ चलचित्रमा देखिएका थिए। निर्माण पक्षका अनुसार ‘तरङ्ग’ २०२६ भित्र सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।