
पोखरा, १६ मंसिर
विश्व एड्स दिवसको अवसरमा पोखरामा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ कास्की, एड्स हेल्थकेयर फाउन्डेशन नेपाल र प्रादेशिक जनस्वास्थ्य केन्द्र कास्कीको संयुक्त आयोजनामा महासंघ कास्कीको पोखरा–७ स्थित सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. प्रमराज पंगेनीले एड्स लगायतका विषयमा समुदायमा सचेतना फैलाउन पत्रकारसँगको अन्तरक्रियाले छिटो, छरितो र यथार्थ सूचना प्रवाह हुने बताए।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका फिजिसियन डा. सरदचन्द्र बरालले एचआइभी र पोखरा एआरटी केन्द्रले संचालन गर्दै आएका गतिविधिबारे प्रस्तुति दिँदै एचआइभी संक्रमण तथा एड्स उपचार अन्य रोगको तुलनामा सहज र उपलब्ध भए पनि समाजमा रहेको कलंक (लालछना) र भेदभावका कारण संक्रमितहरूले नजिकको स्वास्थ्य संस्थाभन्दा टाढाको केन्द्रबाट सेवा लिन बाध्य हुने गरेको बताए।
प्रादेशिक जनस्वास्थ्य केन्द्र कास्कीका एचआइभी फोकल पर्सन लक्ष्मण बसौलाले एड्स नियन्त्रणका लागि समुदायको भूमिका महत्वपूर्ण रहेको बताउँदै कलंक र भेदभावका कारण सम्भावित संक्रमितहरू परीक्षण तथा उपचारमा खुल्न नचाहँदा जोखिम बढिरहेको उल्लेख गरे।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष एवं सल्लाहकार दिपेन्द्र श्रेष्ठ, एड्स रोग संघका केन्द्रीय सचिव मनोज गुरुङलगायतले आफ्नो धारणा राखेका थिए।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत एड्स हेल्थकेयर फाउन्डेशन नेपाल गण्डकीका प्रमुख विद्या कोइरालाले गरेका थिए भने संचालन महासंघ कास्कीका सचिव भुपाल गुरुङले गरेका थिए।
हरेक वर्ष डिसेम्बर १ मा मनाइने विश्व एड्स दिवसको यस वर्षको नारा — ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ — रहेको छ।












