
काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। आज सार्वजनिक गरिएको पोस्टरमा फिल्मका मुख्य पाँच कलाकारलाई देखाइएको छ।
खैरो रंगको कुनै घर वा होटलजस्तो देखिने पृष्ठभूमिमा महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुशमान देशराज जोशी लाई प्रस्तुत गरिएको छ। सबै कलाकारहरूमा समान मनोभाव—निराशा र तनाव—देखिन्छ। फरक यति मात्र छ—महेश त्रिपाठीको हातमा बञ्चरो छ, भने अन्यका हात रित्तै छन्।
पात्रहरू तनावग्रस्त देखिए पनि त्यसको कारणबारे पोस्टर मौन छ। त्यसैले फिल्ममा मानसिक दबाब र मौनताभित्र लुकेका रहस्यलाई संकेत गरेको विश्लेषण गर्न सकिन्छ।
बलिराम चौहानको निर्देशन रहेको ‘द ब्ल्यू लाइट’ पुस १० गतेदेखि रिलिज हुँदैछ। फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र सुरक्षा इटानी प्रमुख भूमिकामा छन्।
यस्तै, बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन्। साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भइरहेको फिल्मलाई स्काइफल पिक्चर्स ले प्रस्तुत गर्दैछ। चलचित्रका सह–निर्माता रमन ग्रे हुन्।
फिल्मको छायांकन नरेन्द्र मैनाली ले गरेका छन्। आकाश उखेडा मुख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्।












