
बागलुङ, कार्तिक २९, २०८२
मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजित श्रीमद्भागवत ज्ञान विज्ञान महायज्ञको सातौँ दिनसम्म ८ करोड ९६ लाख ९५ हजार रुपैयाँ संकलन भएको छ। कार्तिक २१ गतेदेखि सञ्चालनमा आएको महायज्ञको सातौँ दिन शुक्रबार मात्र १ करोड ३४ लाख ८० हजार रुपैयाँ संकलन भएको महायज्ञ मूल आयोजक समितिले जानकारी दिएको छ। बागलुङ नगरपालिका–४ स्थित आश्रम निर्माणस्थल नजिकै भएको महायज्ञमा दाताहरूको उल्लेखनीय भीड लागेको छ। महायज्ञमा बिहीबार मात्र १ करोड ६२ लाख रुपैयाँ संकलन भएको थियो।
महायज्ञमा बागलुङ, पर्वत, म्याग्दी लगायत देशका विभिन्न स्थानका साथै विदेशमा रहेका नेपालीहरूले पनि अनलाइनमार्फत सहयोग गरिरहेका छन् भन्ने जानकारी समितिका कोषाध्यक्ष सरिता गौतमले दिइन्।
शुक्रबार मात्र समितिका संयोजक सहदेव राजभण्डारीले १० लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका थिए। हालसम्म महायज्ञमा सबैभन्दा बढी रकम सहयोग गर्ने व्यक्ति राजभण्डारी बनेका छन्।
बागलुङ नगरपालिका–८ सिगाना निवासी तथा हाल एनआरएन पोर्चुगलका अध्यक्ष बमबहादुर जिसी (किसान काजी) र इन्द्राकुमारी जिसीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन्। त्यस्तै, बागलुङ बजारस्थित राज्यलक्ष्मी सुनचाँदी पसलबाट ५ लाख २५ हजार २ सय ७५ रुपैयाँ, डोलेन्द्रबहादुर खड्का तथा लिलावती खड्काको परिवारले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्। साथै, म्याग्दीको मालिका गाउँपालिकाबाट भवनको एक कोठा निर्माणका लागि ५ लाख ११ हजार रुपैयाँ सहयोग प्राप्त भएको समितिले जनाएको छ।
महायज्ञमा हालसम्म पाँच हजारदेखि १० लाख ११ हजार १ सय ११ रुपैयाँसम्म सहयोग प्राप्त भएको छ। आश्रमको भवन निर्माणका साथै १० करोडको अक्षयकोष स्थापनार्थ आयोजित महायज्ञमा देश तथा विदेशबाट उल्लेखनीय सहयोग प्राप्त भएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए।
सडक आश्रित, असहाय, अपाङ्ग, मानसिक रोगी तथा घरबारविहीन सडक मानवको पुनर्स्थापनाका लागि निर्माणाधीन आश्रम बागलुङको भवनमा सहयोग पुग्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो।
देश–विदेशमा रहेका बागलुङवासी, संघ–संस्था तथा सहयोगी व्यक्तिहरूले नगद, क्युआर कोड र अन्य माध्यममार्फत सहयोग गरिरहेका छन्। महायज्ञ कार्तिक २९ गतेसम्म चल्नेछ। महायज्ञमा योग शिविर, स्वास्थ्य शिविर तथा विद्यार्थीहरूका लागि नैतिक शिक्षा र सकारात्मक सन्देशहरू पनि प्रदान गरिएको छ।













