बागलुङमा महायज्ञ, ५० लाख बराबरको दान संकलन

-


     हिडन खबर    
     कार्तिक २४ गते २०८२ मा प्रकाशित


बागलुङ, कार्तिक २३
मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि निरयघाटमा सुरु भएको महायज्ञमा शनिबारसम्म ५० लाख रुपैयाँ बराबरको दान संकलन भएको छ।

आश्रमको वित्त विभागका अनुसार व्यक्तिगत तथा संस्थागत रूपमा नगद, क्युआर कोड र प्रतिबद्धतासहित रकम संकलन भइरहेको छ। भवन निर्माण सम्पन्न गरी सडकआश्रित मानवहरूको व्यवस्थापनका लागि आयोजित महायज्ञमा श्रद्धालु भक्तजनको उत्साहजनक सहभागिता देखिएको छ।

दानदातामध्ये जैमिनी नगरपालिका–१ की सीता शर्माले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, धर्मकुमारी खड्काले १ लाख १ हजार १ सय ११ रुपैयाँ, हिराधर थापा थापामगरले १ लाख ५१ हजार १ सय ५१ रुपैयाँ, विष्णु शर्मा, कुमार खड्का र बाबुराम रेग्मीले समान १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्।

त्यस्तै रामप्रसाद श्रेष्ठ, नारायण कार्की, जानकी केसी, खुसी क्लब, रविनकुमार श्रेष्ठ, नारायण शर्मा सापकोटा, पूजा रोक्का, हिरादेवी प्रधान, टुमाकुमारी गौतमलगायतले विभिन्न रकम सहयोग गरेका छन्।

बागलुङ नगरपालिका–२ का अशोक श्रेष्ठ र विजयालक्ष्मी श्रेष्ठ, निलाराम निउरे, रामनारायण पौडेल तथा नगरपालिका–४ नम्बर वडा कार्यालयले भवन निर्माणका लागि थप सहयोग गर्ने घोषणा गरेका छन्।

महायज्ञबाट संकलित रकम भवन निर्माण तथा अक्षयकोष वृद्धिमा खर्च गरिने आश्रमले जनाएको छ। महायज्ञ कार्तिक २८ गतेसम्म सञ्चालन हुने कार्यक्रम छ।