शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न

-


     हिडन खबर    
     कार्तिक २२ गते २०८२ मा प्रकाशित


बागलुङ । मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण तथा सहयोपेक्षी सडकआश्रित मानवको व्यवस्थापनका लागि आयोजना गरिएको श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८२ अन्तर्गतको शोभा कलश यात्रा शुक्रबार धार्मिक उत्साहका साथ सम्पन्न भएको छ।

कलश यात्रा बिहान लोकतान्त्रिक चोकबाट शुभारम्भ भई नगरका प्रमुख चोक तथा मार्गहरू—जिपपार्क, नगर खानेपानी, राइटर चोक, शिवधारा, देउराली चोक, विद्यामन्दिर, नारायण चोक, लालीगुँरास चोक, गोदाम चोक, बुद्धचोक, अदालत रोड, अस्पताल रोड, मरेपिपल र लाम्पाटा हुँदै निरयघाटस्थित महायज्ञ स्थलमा समापन भएको थियो।

यात्रामा विभिन्न आमा समूहहरूको सहभागिता उल्लेखनीय रह्यो। देउराली आमा समूहले नौमती बाजाको साथमा अगुवाइ गरे भने नवजागृति, कालिका, शुक्लेश्वरी ज्ञानज्योति, एकल आमा समूह तथा धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानका प्रतिनिधिहरूले सांस्कृतिक पहिरनमा सहभागिता जनाएका थिए। उनीहरूले धार्मिक गीत, नृत्य तथा झाँकीमार्फत यात्रालाई जीवन्त बनाएका थिए।

कलश यात्रामा हजारौं भक्तजनहरूको उत्साहपूर्ण उपस्थिति थियो। भक्तिभाव, बाजागाजा, धार्मिक झाँकी तथा सांस्कृतिक प्रस्तुति यात्राको प्रमुख आकर्षण बने। नगरवासीहरूले घरअगाडि दीप प्रज्वलन, फूलमाला तथा प्रसाद वितरणमार्फत यात्रालाई स्वागत गरेका थिए।

कलश यात्रा महायज्ञको औपचारिक उद्घाटन कार्यक्रमको रूपमा लिइन्छ, जसले यज्ञको शुभारम्भको संकेत गर्दछ। यस यात्राले नगरमा धार्मिक चेतना, सामाजिक एकता तथा मानवसेवाको सन्देश फैलाएको आयोजकहरूले जनाएका छन्।

निरयघाटमा सुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ कार्तिक २८ गतेसम्म सञ्चालन हुनेछ। महायज्ञमा प्रत्येक दिन विभिन्न धार्मिक प्रवचन, कथा वाचन, सांस्कृतिक कार्यक्रम तथा सेवा कार्यहरू सञ्चालन गरिनेछ।