
गोरखा, कार्तिक ९ — नेकपा (माओवादी केन्द्र)द्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम आज गोरखा सदरमुकाममा सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख वक्ताका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा अध्यक्ष प्रचण्डले जेन–जि आन्दोलनले उठाएका मुद्दा, देशको वर्तमान राजनीतिक अवस्था, तथा पार्टीको आगामी कार्यदिशाबारे स्पष्ट धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “जेन–जि आन्दोलनले उठाएका मुद्दा हामीले संविधानसभा चुनावदेखि नै उठाउँदै आएका हौँ। ती मुद्दा पूरा गर्न अब हाम्रो पहल र जोड हुनेछ।”
अन्तरिम सरकारप्रति पार्टीको दृष्टिकोण स्पष्ट पार्दै प्रचण्डले थप्नुभयो, “केपी ओलीको सिफारिसमा राष्ट्रपतिबाट गठन भएको अन्तरिम सरकारप्रति हामीले समर्थन जनाएका थियौँ। तर हाम्रो मत संसदबाट अनुमोदन गरी संविधान संशोधन गरेर मात्र संसद विघटन गरिनुपर्छ भन्ने थियो। जेन–जि आन्दोलन हाम्रा उत्तराधिकारी हुन्, र हामी भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध निरन्तर संघर्षरत छौँ।”
चुनावको सन्दर्भमा अध्यक्ष प्रचण्डले सबै राजनीतिक दललाई निर्वाचन तयारीमा जुट्न आह्वान गर्दै भन्नुभयो, “अब चुनाव घोषणा भइसकेको अवस्थामा सफल निर्वाचन गराउनु नै हाम्रो पहिलो कार्यभार हो। सरकारलाई निष्पक्ष निर्वाचनको वातावरण बनाउन आग्रह गर्दछु। चुनाव हुनेछ कि हुँदैन भन्ने होइन, अब चुनावमा लाग्नु बाहेक कुनै विकल्प छैन।”
उहाँले देशभर माओवादी केन्द्रप्रति जनविश्वास बढ्दै गएको उल्लेख गर्दै भन्नुभयो, “हाम्रो पार्टीले अहिले जिल्ला–जिल्ला र गाउँ–गाउँमा कार्यक्रम गरिरहेको छ। आम जनताले अबको चुनावबाट देश सम्हाल्न माओवादी नै आउनुपर्छ भन्ने विश्वास व्यक्त गरिरहेका छन्।”
जेन–जि पुस्तासँगको सम्बन्धबारे प्रचण्डले भन्नुभयो, “जेन–जि युवाहरूसँगको छलफलबाट उहाँहरू पनि आफ्नो असली अभिभावक माओवादी नै हो भन्ने निष्कर्षमा पुग्दै जानुभएको छ।”
पार्टीभित्रको एकतालाई सुदृढ बनाउने संकल्प व्यक्त गर्दै उहाँले भन्नुभयो, “केन्द्रीय समितिले पार्टीभित्रको एकता विरोधी र नेतृत्व विरोधी प्रवृत्तिलाई एकताबद्ध भएर परास्त गरेको छ। विचार मिल्नेहरूसँग एकता गरिन्छ, तत्काल सम्भव नभए संयुक्त मोर्चा बनाएर अघि बढिन्छ।”
कार्यक्रमको अन्त्यमा अध्यक्ष प्रचण्डले सबै कार्यकर्तालाई सचेत रहन आह्वान गर्दै भन्नुभयो, “अहिले पनि प्रतिगामी खतरा कायम छ। तिनीहरू लोकतन्त्र खोस्न सकिन्छ कि भनेर लागेका छन्। त्यसैले त्यस्ता तत्वबाट सावधान रहनुपर्छ।”














