अध्यक्ष प्रचण्डद्वारा सम्पत्ति सार्वजनिक गर्ने घोषणा

-


     हिडन खबर    
     असाेज १० गते २०८२ मा प्रकाशित


काठमाडौं, असोज १० — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने तथा सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ।

उहाँले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीहरूले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। “अब पुरानै ढंगले चल्दैन, नयाँ कार्यविधि र शैलीबाट अघि बढ्नुपर्छ,” अध्यक्ष प्रचण्डले स्पष्ट गर्नुभयो।

संगठनात्मक कार्यशैली मात्र होइन, व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेको उहाँको भनाइ थियो। बैठकमा उहाँले नेताहरूको खानपान, लवाइ–खवाइदेखि जनसामान्यसँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन के गर्न सकिन्छ भन्नेबारे लिखित सुझाव पेश गर्न निर्देशन दिनुभयो।

बैठक सम्पन्न भएपछि माओवादी केन्द्रको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण हुने छ। पार्टीले निर्वाचन तोकिएको मितिमा सम्पन्न गर्न आवश्यक वातावरण निर्माणका लागि पहल गर्ने जनाएको छ।