
काठमाडौंसहित देशका विभिन्न स्थानमा जेन–जी पुस्ताको प्रदर्शन र समसामयिक राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै नेकपा (माओवादी केन्द्र) का उपलब्ध पदाधिकारीहरूको आकस्मिक बैठक भिमसेन थापा गाउँपालिका–३, टारिफाटमा सम्पन्न भएको छ।
बैठकले हालसालै सञ्चालनमा रहेको जनतासँग माओवादी मध्यपहाडी जनजागरण अभियान (पुष्पलाल लोकमार्ग) तत्काल स्थगित गर्ने निर्णय गरेको छ। साथै, भोलि काठमाडौंमा पूर्ण पदाधिकारी बैठक बोलाउने निर्णय पनि गरिएको छ।
बैठकमा जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको दु:खद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै, प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, घटनाले पार्टीलाई स्तब्ध र गम्भीर बनाएको उल्लेख गरिएको छ।
बैठकले सरकारसमक्ष निम्न मागहरू राखेको छ:
- सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्काल हटाउन
- भ्रष्टाचारविरुद्ध उठाइएका मागहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्न
- स्थिति थप जटिल नबनियोस् भनेर जिम्मेवारीपूर्वक ठोस कदम चाल्न









