
लम्जुङ, भदौ २२ — पुष्पलाल मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली शनिबार श्री भक्ति नमूना माध्यमिक विद्यालयमा पुगेको छ।

विद्यालयमा आयोजित संवाद कार्यक्रममा अध्यक्ष प्रचण्डले आफ्नो लामो राजनीतिक यात्रामा यस विद्यालयसँगको विशेष सम्बन्ध स्मरण गर्दै भने, “म धेरै अघि यहाँ आएको थिएँ। पहिलो पटक प्रधानमन्त्री भएपछिसमेत यो विद्यालयमा आएको थिएँ।”

उहाँले हालैको लम्जुङ कृषि क्याम्पसको अवलोकन तथा त्यहाँ भएका छलफलको उल्लेख गर्दै वर्षा यामका कारण पोखरामा रोकिएको मध्यपहाडी लोकमार्ग अभियान पुनः सुरु गरिएको जानकारी दिनुभयो। “हामीले बैतडीदेखि कास्कीसम्म अभियान चलाउँदा बर्खाका कारण स्थगित गर्नुपरेको थियो। अहिले फेरि यसलाई निरन्तरता दिएका छौं। यस अभियानको मुख्य उद्देश्य जनताको समस्या बुझेर सिंहदरबारसम्म पुर्याउनु हो,” प्रचण्डले स्पष्ट गर्नुभयो।

अभियानका क्रममा जनयुद्ध तथा जनक्रान्तिका सहिद र बेपत्ता परिवारसँग निरन्तर भेटघाट भइरहेको जानकारी दिँदै उहाँले उनीहरूको पीडा सम्बोधन गर्न पार्टी प्रयासरत रहेको बताउनुभयो। साथै, सरकारमा रहँदा सामाजिक न्याय, सुशासन तथा विदेशमा रहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्ने जस्ता कार्यहरू सम्पन्न गरिएको स्मरण गर्नुभयो।

“राम्रो काम गर्दै गर्दा हामीलाई सरकारबाट हटाइए पनि भ्रष्ट्राचार अन्त्य र सुशासनको अपेक्षा राख्ने जनताको मनबाट हामी हटेका छैनौं,” अध्यक्ष प्रचण्डले जोड दिनुभयो।













