
नयाँ सोच, उद्यमशीलता र पर्यटन प्रवर्द्धनको उद्देश्यसहित “जर्नी भाइब्स ट्राभल्स एण्ड टुर्स” नामक यात्रा तथा पर्यटन कम्पनीको शुक्रबार राजधानीमा औपचारिक शुभारम्भ गरिएको छ। गैरसरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईले एक विशेष समारोहमा कम्पनीको उद्घाटन गर्नुभयो।
नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र साहसिक पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यका साथ युवा उद्यमीहरूले स्थापना गरेको यस कम्पनीमार्फत हिमाल आरोहण, पदयात्रा, ग्रामीण भ्रमण, सांस्कृतिक तथा धार्मिक यात्रा, प्राकृतिक दृश्यावलोकनलगायतका आकर्षक प्याकेजहरू उपलब्ध गराइने जनाइएको छ।

उद्घाटन समारोहमा अध्यक्ष भट्टराईले भन्नुभयो, “युवा उद्यमीहरूको यस्तो पहलले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ऊर्जा प्रदान गर्नेछ। हाम्रो देशको समृद्धिको सम्भावना पर्यटनमै निहित छ, त्यसलाई व्यावसायिक, प्रविधिमैत्री र विश्वसनीय बनाउन यस्ता कम्पनीहरूको महत्वपूर्ण भूमिका रहनेछ।”
त्यस्तै, कम्पनीका सह–संस्थापक बसन्त काफ्लेले भने, “हामीले नेपालको ग्रामीण पर्यटन र मौलिक जीवनशैलीलाई विश्वसामु चिनाउने लक्ष्य लिएका छौँ। यसमार्फत ग्रामीण समुदायलाई प्रत्यक्ष लाभ पुर्याउँदै रोजगारी सिर्जना गर्नु हाम्रो मुख्य उद्देश्य हो।”
कम्पनीले नेपाललाई विश्वकै उत्कृष्ट पर्यटन गन्तव्यका रूपमा स्थापित गर्दै यात्रुहरूलाई सुरक्षित, सहज र जीवनभर सम्झनलायक अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। साथै, ग्रामीण पर्यटन प्रवर्द्धनमार्फत स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुर्याउने अठोट पनि व्यक्त गरिएको छ।
युवाहरूको सक्रियतामा सुरु गरिएको “जर्नी भाइब्स ट्राभल्स एण्ड टुर्स” को यो पहलले नेपालको पर्यटन प्रवर्द्धनसँगै रोजगारी सिर्जना, ग्रामीण विकास तथा राष्ट्रिय अर्थतन्त्रमा ठोस योगदान पुर्याउने विश्वास गरिएको छ।










