
बागलुङ भदौ १८
लेखेर नसकिने जिन्दगीको यात्रा निरन्तर चलिरहन्छ। चियाको कपबाट बाफ उडेर हावामा बिलाइरहेझैं, सोचहरू पनि मनबाट निस्केर वायुमण्डलको विशालतामा हराइरहेका हुन्छन्।
यस्तै भावनात्मक पृष्ठभूमिमा गायक हेमन्त खड्काले बजारमा सार्वजनिक गरेको मौलिक गीत ‘तील पेलेर तेल’ अहिले आम दर्शकको रोजाइमा परेको छ।
जिन्दगी कसैलाई लामो लाग्न सक्छ, कसैलाई छोटो। तर गायक खड्काले भने बाँकी जीवन हासेर बिताउने सोच बनाएका छन्। माया–प्रेमको अन्तरकथालाई टपक्क टिपेर तयार पारिएको यस गीतमा शब्द, लय र स्वर तीनै पक्षमा हेमन्त खड्काकै योगदान रहेको छ। उनलाई लोकप्रिय गायिका अस्मिता डल्लाकोटीले स्वरमा साथ दिएकी छन्।
गीतको संगीत संयोजन कृष्ण केसीले गरेका छन्। निर्देशन युवा निर्देशक प्रेम थापाले गरेका हुन् भने छायांकन सुनिल भण्डारी र सम्पादन अमृत चापागाईंले गरेका छन्। गीतको भिडियोमा सञ्चारकर्मी कृष्ण आचार्य र यशु भट्टराईको अभिनय देख्न सकिन्छ।
‘तील पेलेर तेल’ को भिडियो सरल र भावनात्मक ढंगले प्रस्तुत गरिएको छ। भिडियो हेमन्त खड्काको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।












