रुपन्देहीमा एक्लै चुनाव लड्ने तयारी गर्नुस् : अध्यक्ष प्रचण्ड

-


     हिडन खबर    
     भाद्र १५ गते २०८२ मा प्रकाशित


बुटवल, भदौ १४ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुपन्देहीमा पार्टी एक्लै चुनाव लड्ने तयारीमा रहेको र राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभएको छ।

बुटवलको वेलबासमा सम्पन्न लुम्बिनी प्रदेशको सातौं पूर्ण बैठकमा अध्यक्ष प्रचण्डले नेताकार्यकर्तालाई एक्लै चुनाव लड्न तयार रहन निर्देशन दिनुभयो। उहाँले माओवादीले ल्याएको परिवर्तनको रक्षा पनि माओवादीले नै गर्नुपर्ने बताउँदै जनतासँग प्रत्यक्ष संवाद बढाउन आग्रह गर्नुभयो।

प्रचण्डले पार्टीभित्रको असन्तुष्टि र बहसलाई वर्गसंर्घषको स्वाभाविक प्रक्रिया भन्दै माओत्से तुङ, ल्यू साओची र लिन प्याओबीचको ऐतिहासिक सम्बन्धको उदाहरण प्रस्तुत गर्नुभयो।

उहाँले जनयुद्ध, शान्ति प्रक्रिया र गणतन्त्र स्थापनाको नेतृत्व इतिहासले आफूलाई सुम्पिएको उल्लेख गर्दै जनयुद्धमा सहभागी, सहिद, घाइते र जेलनेल भोगेकाहरूको विवरण संकलन गरी केन्द्रमा पठाउन निर्देशन दिनुभयो। गणतन्त्रमा योगदान दिने नागरिकलाई सम्मान गर्न स्पष्ट मापदण्ड बनाउने जानकारी पनि दिनुभयो।

बैठकमा पार्टी आन्दोलनको समिक्षा, संगठन पुनर्गठन, नेतृत्व हस्तान्तरणको तयारी, जनताको भरोसा र आगामी रणनीतिबारे चर्चा भएको थियो। प्रचण्डले माओवादीले परिवर्तनको जग राखेको र त्यसको रक्षा गर्ने शक्ति पनि माओवादी नै भएको दोहोर्याउनुभयो।