अध्यक्ष प्रचण्डद्वारा टंकमणिको शालिक अनावरण

-


     हिडन खबर    
     भाद्र १५ गते २०८२ मा प्रकाशित


बुटवल, रुपन्देही — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बञ्जाडे ‘टंकमणि’को शालिक अनावरण गर्नुभएको छ। आइतबार प्रतिष्ठानको बुटवलस्थित कार्यालय परिसरमा अर्धकदको शालिक अनावरण गरिएको हो। सो अवसरमा “टंकमणि : एक क्रान्तिबीज” शीर्षकको पुस्तक विमोचन पनि सम्पन्न भयो।

कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्ध सफल बनाउन तत्कालीन सप्लाई विभागको योगदान महत्वपूर्ण रहेको स्मरण गर्दै टंकमणिले सप्लाई विभागमा रहेर दश वर्षे जनयुद्धलाई सफल बनाउन विशेष भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो। उहाँले जनयुद्धको समयमा जोखिमपूर्ण जिम्मेवारी बहन गर्दै काम गर्ने टंकमणिलाई साहसी योद्धा भनेर सम्मान गर्नुभयो।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले टंकमणि माओवादी मात्र नभई समग्र समाजका नेता भएको बताउँदै परिवर्तनका लागि लडेका योद्धाहरूको सम्मानमा उपमहानगरपालिकाले कदर गरेको स्पष्ट पार्नुभयो। उहाँले उपमहानगर सबै पक्षलाई समेटेर अघि बढिरहेको जानकारी दिनुभयो।

पाण्डेले आफूहरू कांग्रेस–माओवादी गठबन्धनबाट निर्वाचित भएकाले केन्द्रमा गठबन्धन भत्किए पनि पालिकामा गठबन्धनको मर्मअनुसार काम गरिरहेको स्पष्ट गर्नुभयो।

कार्यक्रममा पार्टीका उपमहासचिव वर्षमान पुन, सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल, पूर्वसभामुख ओनसरी घर्ति, पूर्वमन्त्री रेखा शर्मा, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी, जोखबहादुर महरा, प्रदेश अध्यक्ष सुदर्शन बराललगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो।

स्व. टंकमणिको २०७८ मंसिर ८ गते सवारी दुर्घटनामा निधन भएको थियो।