तीजको बिदामा ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा हल भरिभराउ

-


     हिडन खबर    
     भाद्र १० गते २०८२ मा प्रकाशित


काठमाडौं । भदौ १०
चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ मा आज हलहरूमा दर्शकको उपस्थिति उल्लेखनीय देखिएको छ। तीजको बिदा परेकाले दर्शकको चाप अझै बढेको निर्माण पक्षको भनाइ छ।

निर्माण पक्षका अनुसार देशभरका हलहरूमा दर्शकहरूको बाक्लो उपस्थिति देखिएको छ। बिहानैदेखि हलहरूमा दर्शकको चाप बढ्दो रहेको दाबी गरिएको छ।

राजधानी काठमाडौंदेखि विराटनगर, पोखरा, बुटवल, चितवन, नेपालगञ्जलगायतका सहरका हलहरूमा दर्शकहरूको उल्लेखनीय उपस्थिति देखिएको निर्देशक हिमाल न्यौपानेले जानकारी दिए।
उनले भने, “परिवारसहित दर्शकहरू बिहानैदेखि हलमा आइरहनु भएको छ। अपराह्नपछि दर्शकको संख्या अझै बढेको देखिन्छ।”

शुक्रबारदेखि प्रदर्शनमा आएको ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ ले दर्शकबाट उत्कृष्ट वर्ड अफ माउथ (मौखिक प्रशंसा) प्राप्त गरिरहेको छ।

फिल्मले प्रदर्शनको पहिलो दिनदेखि नै सकारात्मक प्रतिक्रिया पाइरहेको छ। सामाजिक सञ्जालमा दर्शकहरूले लेखेका प्रतिक्रियाबाट चलचित्रले भावनात्मक प्रभाव पारेको स्पष्ट देखिन्छ।
पारिवारिक उतारचढाव प्रस्तुत गरिएको यस चलचित्रलाई दर्शकहरूले आफ्नै जीवनसँग जोडेर हेरेको प्रतिक्रिया दिएका छन्।

फिल्म हेरेपछि धेरै दर्शकले यसलाई आफ्नै जीवनसँग सम्बन्धित अनुभवको रूपमा लिएका छन्। अधिकांश दर्शकले चलचित्रले भावुक बनाएको बताएका छन्। केही दर्शक त हलमै रोइरहेको दृश्यसमेत देखिएको छ।

चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायत कलाकारहरूको अभिनय रहेको छ।

हिमाल न्यौपाने निर्देशित चलचित्रमा ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत असोसिएट निर्देशकको रूपमा रहेका छन्।

पेपरक्लिपको ब्यानरमा निर्माण गरिएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ।

चलचित्रको कथा, पटकथा तथा संवाद भानुभक्त ढकालले लेखेका हुन्। दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेका छन् भने तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशकको रूपमा संलग्न छन्। निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्। चलचित्रको वितरण गोविन्द शाहीको काफिया फिल्म्स ले गरेको हो।