केकी अधिकारी : ‘दयालु दिदी’को संवेदनशील चित्रण

-


     हिडन खबर    
     भाद्र ४ गते २०८२ मा प्रकाशित


काठमाडौं । ‘बोक्सीको घर’ ब्लकबस्टर हिट भएपछि अभिनेत्री केकी अधिकारीको व्यस्तता थपिएको छ। एकपछि अर्को चलचित्र प्रदर्शनको तयारीमा रहेकी केकीको नयाँ फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ यही भदौ ६ गतेबाट प्रदर्शनमा आउँदैछ।

चलचित्रमा केकीले मुख्य पात्र विजय बरालको दिदीको भूमिका निर्वाह गरेकी छन्। भाइको जीवनमा लय आउन सकोस् भन्ने चाहनाले आफू श्रीमानको दमन र खप्की सहेर बस्ने दिदीको संवेदनशील चरित्रमा उनी देखिएकी छन्।

आफ्नो पीडा लुकाएर अरूको खुसीका लागि जिउने पात्रको रूपमा प्रस्तुत गरिएकी केकी, जब भाइले उनको घरेलु हिंसा सहेर बसिरहेको थाहा पाउँछ, त्यसको प्रतिकार गर्न खोज्दा उनी भाइलाई कराउँछिन्—”म अँध्यारोमा बसेर अरुलाई उज्यालो दिन चाहन्छु।”

ट्रेलरमा पनि उनी भाइका लागि आफ्ना सपनाहरू त्याग्ने पात्रका रूपमा देखिएकी छन्। यसका पछाडि उनको दयालु स्वभाव र सामाजिक परिबन्धको दुष्चक्रमा फसेको अवस्था देखिन्छ। यथार्थमा उनी सपना खोज्दै गाउँबाट काठमाडौं आएकी युवती हुन्।

केकी भन्छिन्, “चलचित्रमा मैले सानो उमेरमै ठूलो सपना बोकेर काठमाडौं आएकी गाउँले युवतीको भूमिका निर्वाह गरेकी छु। तर समय र परिस्थितिले उसलाई यस्तो मोडमा पुर्‍याउँछ, जहाँ उसलाई आफ्नै सपना याद रहँदैन। यस्ता धेरै महिला आज काठमाडौंमा हुनुहुन्छ। तीमध्ये एक पात्र मैले निभाएकी हुँ।”

चलचित्रमा केकी र विजयसँगै मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायत कलाकारहरूको अभिनय रहेको छ।

पेपरक्लिप ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन्।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ। कथा, पटकथा तथा संवाद भानुभक्त ढकालले लेखेका हुन्।

दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको चलचित्रमा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशकका रूपमा छन्। निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्।

चलचित्रको वितरण जिम्मा गोविन्द शाहीको काफिया फिल्मसले लिएको छ।

‘पूर्णबहादुरको सारंगी’ जस्तो अलटाइम ब्लकबस्टरपछि विजय बरालको मुख्य भूमिकामा आउने यो वर्षको पहिलो चलचित्र हो।