
झण्डै १३ लाख दर्शक–श्रोतालाई प्रत्यक्ष रूपमा जोडिएको ‘सारंगी संसार रोधीघर’ले यस वर्षदेखि केही नयाँ कार्यक्रमको थालनी गरेको छ।
प्रत्येक वर्ष गीत–संगीतमा निरन्तर योगदान पुर्याउँदै आएका दिग्गज गायिकाहरुलाई सम्मान गर्ने उद्देश्य रहेको ‘सारंगी संसार रोधीघर’का सञ्चालक कमल कुमार विकले जानकारी दिनुभयो।
रोधीघरले यस वर्ष तीज विशेष कार्यक्रम आयोजना गरी महिला दिदीबहिनीलाई तीजको विशेष दर खुवाउने कार्यक्रमसँगै, पहिलोपटक ठेट गीत गायिका आमा पवित्रा रसाइलीलाई सम्मान गरेको हो।
उमेरले वृद्धावस्था पार गर्नुभएकी पवित्रा रसाइली आमाले आफ्नो कोकिलकण्ठसँगै विगतमा गाइने मौलिक तीजका भाकाहरू निरन्तर प्रस्तुत गर्दै आउनुभएको छ। उहाँले “उईले उईले” का तीजगीतका भाकाहरू समेटी भाग–१ देखि भाग–५ सम्मका संग्रह बजारमा ल्याउनुभएको छ।
उक्त कार्यक्रममा कलाकार, सहयोगी तथा शुभचिन्तकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।









