गणतन्त्रप्रति सबैभन्दा गहिरो चिन्ता हामीलाई नै छ : अध्यक्ष प्रचण्ड

-


     हिडन खबर    
     श्रावण ८ गते २०८२ मा प्रकाशित


काठमाडौं, साउन ७ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रको संरक्षण र सुदृढीकरणप्रति सबैभन्दा गहिरो चिन्ता आफूहरूलाई रहेको बताउनुभएको छ।

बुधबार राजधानीमा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल’ पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त भएको गणतन्त्रमाथि उठेका प्रश्नहरू गम्भीर विषय भएको उल्लेख गर्नुभयो।

“बच्चा जन्माउने आमालाई जति माया हुन्छ, त्यति अरूलाई हुँदैन। गणतन्त्रप्रति प्रश्न उठेपछि हामीले काठमाडौंमा विशाल प्रदर्शन गरेका थियौं, त्यो हाम्रो संकल्प र सरोकारको अभिव्यक्ति थियो,” उहाँले भन्नुभयो।

प्रचण्डले माओवादी आन्दोलनबाट महिला, दलित, आदिवासी जनजाति समुदायले प्राप्त गरेका अधिकारहरू अब उल्टन नसक्ने बताए।

पछिल्लो समय गहिरो वैचारिक आन्दोलन र नेताहरूको योगदानलाई हल्का रूपमा व्याख्या गर्दै आलोचना गर्ने प्रवृत्ति बढ्दै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो।

“आजभोलि सुसंस्कार, दर्शन र युगान्तकारी परिवर्तन ल्याउने नेताहरूलाई गाली गर्ने फेसन चलेको छ,” अध्यक्ष प्रचण्डको भनाइ थियो।

वैचारिक धरातलविहीन व्यक्तिहरूबाट जनतालाई भ्रममा पार्ने प्रयास भइरहेकाले मुलुक गलत दिशामा जान सक्ने खतरा रहेको भन्दै उहाँले चेतावनी दिनुभयो।

“देशमा निराशावाद, असन्तुष्टि र पलायन प्रवृत्ति बढिरहेका छन्। यस्ता प्रवृत्तिविरुद्ध प्रतिवाद गर्न र जनतालाई सही इतिहास बुझाउन पुस्तकहरू प्रभावकारी माध्यम हुन सक्छन्,” उहाँले भन्नुभयो।

कार्यक्रमको अन्त्यमा अध्यक्ष प्रचण्डले गहन र विश्लेषणात्मक कृतिहरूले देशको राजनीतिक, सामाजिक र वैचारिक मार्गदर्शनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।