चलचित्र ‘कोशेढुंगा’को गीत सार्वजनिक, तीज गीतमार्फत विवाहित र अविवाहितको भाव व्यक्त

-


     हिड्न खबरदाता     
     श्रावण ७ गते २०८२ मा प्रकाशित


काठमाडौं ।श्रावण ६
चलचित्र *‘कोशेढुंगा’*को पहिलो गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक गरिएको छ। सेभेन सिज इन्टरनेसनलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको उक्त गीतमा नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको हुकलाइन र संगीत रहेको छ।
गीतमा खेम सेन्चुरीसँगै समीक्षा अधिकारी र दीपिका बयम्बु मगरको स्वर रहेको छ।

तीजको सेटअपमा आधारित गीतले विवाहित र अविवाहित महिलाको मनोविज्ञानलाई उजागर गर्छ। विवाहित अवस्थामा आउने जिम्मेवारी, प्रेम र जीवनको यथार्थता तथा अविवाहित अवस्थामा हुने कल्पना र उत्सुकता गीतमा समेटिएको छ।

गीतको भिडियोमा अभिनेत्री सुरक्षा पन्त र नीति शाहले अविवाहित युवतीको पक्षबाट आफ्ना कल्पना र चाहनालाई अभिव्यक्त गरेका छन् भने अभिनेत्री ऋचा शर्माले विवाहित जीवनको अनुभव र प्रेम प्रस्तुत गरेकी छन्। मञ्जिल कुमारले विवाह गर्ने चाहना बोकेर सुरक्षालाई प्रस्ताव गरेका छन्, जसमा सुरक्षा पनि सकारात्मक देखिन्छिन्।

गीतमा आकर्षक नृत्य स्टेप्स, रमाइलो बीट र मौलिक तीजको परम्परा समेटिएको छ। परम्परा जोगाउँदै आधुनिक शैलीमा निर्माण गरिएको यस गीतले आगामी वर्षहरूका तीजमा पनि लोकप्रियता पाउने सम्भावना निर्माण पक्षले जनाएको छ।

साथै, निर्माण टिमले टिकटक प्रतियोगिताको पनि घोषणा गरेको छ। ‘#नत्र_भने_जिन्दगी_व्यर्थ_छ’ ह्यासट्याग प्रयोग गरी आजदेखि खुला गरिएको प्रतियोगितामा अगस्ट २० (भदौ ४) सम्म भाग लिन सकिनेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शनकर्ताले ३० हजार, सबैभन्दा रचनात्मक भिडियोले २० हजार, र सबैभन्दा बढी लाइक पाउने भिडियोले १० हजार रुपैयाँ जित्नेछन्।

सरोज पौडेलद्वारा निर्देशित ‘कोशेढुंगा’ भदौ १२ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ।
‘पूर्ण बहादुरको सारंगी’ जस्ता चर्चित सिनेमाका निर्देशक पौडेलले निर्देशन गरेका कारण यो फिल्मप्रति दर्शकमाझ उच्च उत्सुकता देखिएको छ।

नरदेवी फिल्म्सको प्रस्तुति र सारंगी फिल्म्सको सहकार्यमा निर्माण भएको चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, मञ्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायतको अभिनय रहेको छ।

चलचित्रका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने निर्माता प्रेविल कँडेल र किशोर अनुराग रहेका छन्।
बाबु श्रेष्ठको छायांकन, नहकुल खड्काको सम्पादन, र संगीतमा आशिष अविरल तथा रिदम कँडेलको योगदान रहेको छ। कास्टिङ डाइरेक्टर सुवलमणि सापकोटा हुन्।

‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा बढी देशमा एकसाथ प्रदर्शन हुने पहिलो नेपाली चलचित्र बन्ने तयारीमा छ।
यसलाई सेभेन सिज इन्टरनेसनलका प्याट्रिक सुवेदी र रमेश ढकालले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछन्। निर्माण पक्षले चलचित्रले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ दिन सक्ने विश्वास व्यक्त गरेको छ।