
काठमाडौं, साउन ५ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधार र राज्यको सोचमा परिवर्तन आवश्यक रहेको बताएका छन्।
शुक्रवार खुमलटारस्थित निजी निवासमा नेपाल उद्योग परिसंघ (सीएनआई) का नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटका क्रममा अध्यक्ष प्रचण्डले राज्यको सोचाइ र संरचनालाई निजी क्षेत्रमैत्री बनाउनुपर्ने धारणा राखे।
“निजी क्षेत्रलाई सहजीकरण गर्ने नीति र संरचना बिना समृद्धि हासिल गर्न सकिँदैन,” अध्यक्ष प्रचण्डले भने, “राज्यले अवरोध होइन, सहजीकरण गर्ने मनोवृत्ति विकास गर्न जरुरी छ।”
उनले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई सहज वातावरणमा काम गर्न दिन नीतिगत सुधार आवश्यक रहेको बताए।
भेटका क्रममा सीएनआई पदाधिकारीहरूले पनि आर्थिक समृद्धिमा निजी क्षेत्रको भूमिकालाई स्मरण गर्दै, प्रचण्ड प्रधानमन्त्री रहेका बेला राज्य–निजी क्षेत्र सहकार्य बलियो भएको उल्लेख गरे।












