
काठमाडौं, असार ३०
स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्चले स्वास्थ्यतर्फका प्राविधिक शिक्षाका कार्यक्रमहरूमा भर्ना प्रक्रिया अन्योलमा परेपछि देशभरका विद्यार्थीहरू अन्योलमा परेको जनाएको छ। नियमित रूपमा हरेक वर्ष सञ्चालन हुँदै आएका कार्यक्रमहरू यस वर्ष समयमा सुरु नहुँदा विद्यार्थीहरूको भविष्य अन्यिश्चित बनेको मञ्चको भनाइ छ।
मञ्चका महासचिव निर्मल सापकोटाका अनुसार, “स्वास्थ्य प्राविधिक शिक्षा सरकारको उच्च प्राथमिकता भित्र पर्छ भन्ने भनाइ भए पनि व्यवहारमा त्यसको प्रभावकारिता देखिएको छैन। अहिले देशभरका सयौं विद्यार्थीहरू भर्ना खुल्ने आशामा बसेका छन्, तर सम्बन्धित निकायको ढिलासुस्तीका कारण उनीहरू निराश छन्।”
विगत १० वर्षदेखि सञ्चालन हुँदै आएका कार्यक्रमहरू यस शैक्षिक सत्र २०८१/०८२ मा पनि जारी रहने भए तापनि अहिलेसम्म भर्ना प्रक्रिया सुरु नहुनु दुर्भाग्यपूर्ण रहेको मञ्चको भनाइ छ। नियमित प्रक्रिया समयमै पूरा नहुँदा शिक्षालयहरूमा समयमै कक्षा सञ्चालन गर्न कठिनाइ हुने तथा विद्यार्थीको अध्ययन चक्र अवरुद्ध हुने स्थिति सिर्जना भएको छ।
देशमा प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीको संख्या बढ्दो छ तर अवसर सीमित छन्। यस्तो अवस्थामा भर्ना प्रक्रिया नै अन्योलग्रस्त बन्नु गम्भीर समस्या भएको मञ्चले उल्लेख गरेको छ।
महासचिव सापकोटा भन्छन्, “अहिले दिनहुँ सयौं नेपाली युवाहरू देशमा शिक्षाको गुणस्तर र रोजगारीको अभाव भन्दै विदेशिइरहेका छन्। यस्तो बेलामा देशमै उपलब्ध प्राविधिक शिक्षाको प्रवाहमा अवरोध आउनु गम्भीर विषय हो। सरकारले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको दाबी गर्छ तर व्यवहारमा सो अनुरूप देखिँदैन।”
उनले प्राविधिक शिक्षाका अध्ययनका लागि इच्छुक विद्यार्थीहरूलाई यथासमयमा अवसर सुनिश्चित गर्ने वातावरण बनाउन नेपाल सरकार, शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् लगायत सबै सरोकारवाला पक्षलाई तत्काल कदम चाल्न आग्रह गरेका छन्।
स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्चले यस विषयमा चासो राख्दै सबै पक्षलाई जिम्मेवारीपूर्वक अघि बढ्न अनुरोध गरेको छ।









