
(भानुभक्त जयन्ती विशेष – समर्पित कविता)
आज फेरि आयो भानु जयन्ती,
तर प्रश्न छ —
भानु बाँचेका छन् हाम्रो चेतनामा,
या चिप्लिएको छ नाम मात्र सतही सत्कारमा?
अहिले भानु होइन,
सानूको चर्चा छ बजारमा,
भानुको चर्चा — सालमा एक दिन,
सानूको चर्चा — सालभरि, घडीपिच्छे।
भानुले लेखे रामायण, संस्कारका फूलहरू,
अहिले लेखिन्छ कन्टेन्ट, विकृतिका झरनाहरू।
कलमको शक्तिलाई किनारमा राखेर,
टिकटकका दृश्यहरूमा ताली बजाइन्छ।
कविता होइन,
हास्य बनेका छन् भाषाका अनुहारहरू,
ज्ञान होइन,
भ्यू कमाउने खेल बनेका छन् विद्यालयहरू।
भानुको भाषा —
भाषा बन्ने सपना बोकेको,
आज त्यसै भाषामा निन्दा र नङ्गोपन लेखिन्छ।
शिक्षक होइन,
इन्टरनेट ‘गुरु’ बनेका छन्,
राष्ट्र होइन,
रिल्स र स्टाटसमा बनाइन्छ–बिगारिन्छ।
भानुको चर्चा —
किताबको एक अध्यायमा थाति,
सानूको चर्चा —
मोबाइलको स्क्रिनमा राति–बिहान छाती।
तर पनि…
हामी चुप लाग्ने होइनौं भानु!
हामी अझै पनि
तिमीले रोपेको अक्षरको बिरुवा स्याहारिरहेछौं।
हामी अझै पनि
तिमीले देखाएको उज्यालो बाटोमा हिँड्ने सपना देख्दैछौं।
हामी विश्वास गर्छौं —
भानु केवल एक कवि होइन,
हाम्रा संस्कारका शिल्पकार हौँ।
त्यसैले…
हामी फेरि पनि भानु खोज्दैछौं,
बजारको भीडमा होइन —
चेतनाको बीजमा।
जय भानुभक्त!
जय भाषा, जय साहित्य!!












