
काठमाडौं — निर्देशक सरोज पौडेल निर्देशित नयाँ नेपाली चलचित्र ‘कोशेढुंगा’को छायांकन कार्य सम्पन्न भएको छ। सर्वकालीन ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’बाट चर्चामा आएका निर्देशक पौडेलले ५१ दिनको सुटिङ सेड्युलमा सोमबार चलचित्रको छायांकन टुंग्याएका हुन्।
चलचित्रको छायांकन मकवानपुरको चितलाङ, मार्कु तथा ललितपुरको च्यासलस्थित सेटमा गरिएको थियो। यसबाहेक गण्डकी प्रदेशको स्याङ्जा जिल्लाका आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्र पनि छायांकन स्थल रहेका छन्।

चलचित्रको रिलिज मिति पनि तय भइसकेको छ। निर्माणपक्षका अनुसार ‘कोशेढुंगा’ आगामी भदौ १२ गते नेपालसहित विश्वका ४० भन्दा बढी देशमा एकसाथ प्रदर्शनमा आउनेछ।
चलचित्रको अन्तर्राष्ट्रिय वितरणको जिम्मेवारी सेभेन सिज इन्टरनेसनलका प्याट्रिक सुवेदी र रमेश ढकालले लिएका छन्। नेपाली सिनेमाको इतिहासमै पहिलोपटक ‘कोशेढुंगा’ जति धेरै देशमा एकैपटक प्रदर्शनमा आउन लागेको बताइएको छ। यसले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्याउने विश्वास निर्माण टिमले व्यक्त गरेको छ।
‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमै करिब ४७ करोड ५० लाख रुपैयाँ ग्रस कमाइ गरेको पृष्ठभूमिमा, निर्देशक सरोज पौडेलको नयाँ प्रस्तुति ‘कोशेढुंगा’प्रति दर्शकमाझ विशेष चासो र उत्सुकता देखिएको छ।
चलचित्र निर्माणको घोषणा हुँदै गर्दा दर्शकमाझ उत्साह पैदा गरेको यो सिनेमाको छायांकनकै क्रममा सार्वजनिक गरिएको फर्स्ट लुक पोस्टरमा प्रमुख अभिनेत्री सुरक्षा पन्तलाई देखाइएको थियो।
“हामीले अपेक्षा गरेअनुसार छायांकन सकिएको छ। सेटमै भइरहेको अनलाइन सम्पादन हेर्दा पनि चलचित्रको आउटपुटप्रति हामी आशावादी छौँ,” निर्देशक पौडेलले बताए। “कलाकार तथा प्राविधिकहरूको मेहनतले दर्शकलाई केही विशेष दिनेछ भन्ने विश्वास सेटबाटै भएको छ,” उनले थपे।
कार्यकारी निर्माता दिनेश खड्काका अनुसार, ‘कोशेढुंगा’ले दर्शकको अपेक्षा पूरा गर्नेछ। ‘पूर्ण बहादुरको सारङ्गी’ले जस्तै यो चलचित्रले पनि दर्शकमाझ गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ।

चलचित्र ‘कोशेढुंगा’ नरदेवी फिल्म्सको प्रस्तुति हो। यसमा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले र लोकमणि सापकोटा लगायत कलाकारको अभिनय रहेको छ।
प्रेविल कँडेल र किशोर अनुराग निर्माताका रूपमा छन् भने कार्यकारी निर्माताको जिम्मेवारी दिनेश खड्काले सम्हालेका छन्। बाबु श्रेष्ठको छायांकन, नहकुल खड्काको सम्पादन तथा आशिष अविरल र रिदम कँडेलको संगीत रहेको चलचित्रमा कास्टिङ निर्देशन सुवलमणि सापकोटाले गरेका छन्।













