समाजको यथार्थ बोल्ने मनोज ओलीको नयाँ र्‍याप सार्वजनिक

-


     हिड्न खबरदाता     
     असार २३ गते २०८२ मा प्रकाशित


काठमाडौं ।असार २३
र्‍याप गायक मनोज ओलीले नयाँ र्‍याप गीत सार्वजनिक गरेका छन् । गीतमा समसामयिक नेपाली समाजको यथार्थपरक चित्रण गरिएको छ ।

जुनसुकै ‘तन्त्र’ वा ‘वाद’ आए पनि धनी अझ धनी बन्दै गएका र गरिब झनझन पीडित हुँदै गएका यथार्थलाई गीतमार्फत उजागर गरिएको छ । गणतन्त्रपछि गरिबका दिन फेरिन्छन् भन्ने नाराका साथ सत्तामा पुगेका नेताहरूले पनि देशमा खासै परिवर्तन गर्न नसकेको अवस्थालाई गीतले प्रभावशाली ढंगले प्रस्तुत गरेको छ ।

राजनीतिक परिवर्तनसँगै पटक–पटक दोहोरिएको आश्वासन र व्यवस्थाको नाम फेरिए पनि जनताको जीवनस्तरमा खासै सुधार नआएको यथार्थलाई गीतले जीवन्त शैलीमा चित्रण गरेको छ ।

क्रान्तिपछि गरिब जनतालाई परिवर्तनको ढाल बनाएर प्रयोग गरिए पनि उनीहरू अझै पनि न्यूनतम शिक्षा, स्वास्थ्य र दैनिक जीवनका आधारभूत सुविधाबाट वञ्चित छन् भन्ने सन्देश गीतले दिन खोजेको छ ।

उक्त र्‍याप गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् भने कलाकार मुकुन्द भुसाललगायतले अभिनय गरेका छन् ।