मिरमिरे’को छायांकन सुरु, प्रमुख भूमिकामा दयाहाङ र प्रकाश

-


     हिड्न खबरदाता     
     असार २१ गते २०८२ मा प्रकाशित


काठमाडौं, असार — चलचित्र ‘मिरमिरे’ को छायांकन काभ्रेपलाञ्चोकबाट सुरु भएको छ। एक साता लामो वर्कसप सम्पन्न गरेपछि निर्माण टिम शुक्रबार काठमाडौंबाट छायांकनका लागि प्रस्थान गरेको थियो।

शनिबार पनौती नगरपालिका–११, बल्थलीस्थित श्री लड्केश्वर आधारभूत विद्यालय परिसरमा क्यामेरा पूजा गर्दै छायांकन थालिएको निर्माण पक्षले जानकारी दिएको छ।

निर्देशक यम शेर्पाका अनुसार, “चलचित्र ‘मिरमिरे’को छायांकन आजबाट सुरु गरेका छौं। झन्डै ३५ दिन काभ्रेका विभिन्न स्थानमा खिच्ने योजना छ।”

यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु मुख्य भूमिकामा छन्। अन्य कलाकारहरूमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहनेछ।

दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो भने निर्देशक यम शेर्पासँग दयाहाङको यो दोस्रो सहकार्य हो। यसअघि शेर्पाको निर्देशनमा बनेको ‘कार्साङ’ मा पनि दयाहाङले अभिनय गरेका थिए।

चलचित्रको कथा भने निर्माण पक्षले खुलाएको छैन। *‘मिरमिरे’*को कथा र निर्देशन यम शेर्पा स्वयंले गरेका हुन्। छायांकन आलोक शुक्लाले गरिरहेका छन्।

चलचित्रका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा छन्। सह-निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ रहेका छन्। कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेल हुन्।

सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप आर्टिस्ट र दिलीप पन्त निर्माण नियन्त्रकको रूपमा सहभागी छन्।

‘मिरमिरे’ आगामी वर्ष २०८२ मा प्रदर्शन हुने तयारीमा छ। प्रदर्शन मिति भने तय गरिएको छैन। चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ।