
काठमाडौं, असार २० — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार, संसद र न्यायालयको गतिविधि जनअपेक्षाविपरीत भइरहेको बताएका छन्। स्व. गिरिजाप्रसाद कोइरालाको १०२ औं जन्मजयन्तीका अवसरमा शीतल निवासमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्ता टिप्पणी गरेका हुन्।
कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले लोकतन्त्र र शान्ति प्रक्रियामा कोइरालाको अतुलनीय योगदान रहेको उल्लेख गर्दै वर्तमान नेतृत्वले उहाँको सपना साकार पार्न गम्भीर प्रयास गर्नुपर्ने बताए। “हामीले विस्तृत शान्ति सम्झौताका बेला जनतासँग जे वाचा गरेका थियौं, के आज त्यसअनुसार अघि बढिरहेका छौं?” अध्यक्ष प्रचण्डले प्रश्न गरे।
उहाँले हालको संसदीय अभ्यास, सरकारको कामकारबाही र न्याय क्षेत्रका गतिविधि परिवर्तनको मर्मअनुसार अघि नबढेको टिप्पणी गर्दै वर्तमान नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताए। “अहिले संसदमा जे चलिरहेको छ, न्यायालयमा जे भइरहेको छ — त्यो हामीले जनतासँग गरेको कबुल विपरीत छ,” उहाँले थपे।
अध्यक्ष प्रचण्डले गिरिजाप्रसाद कोइरालाले देखाएको लोकतान्त्रिक मूल्य, पारदर्शिता, न्यायिक सबलीकरण र जनमुखी शासनको अभ्यासमा समर्पित हुनुपर्नेमा जोड दिए। उहाँले वर्तमान सरकारले जनताका अपेक्षा अनुसार ठोस कदम चाल्न नसकेकोप्रति चिन्ता व्यक्त गरे।
“म अहिले हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमा छु, जनताको पीडा बुझ्न निस्किएको छु,” भन्दै प्रचण्डले जनतामा सरकारप्रति असन्तुष्टि बढिरहेको जनाए। “यदि निष्ठापूर्वक जनताको हितलाई प्राथमिकता दिइएन भने स्थिति झन् गम्भीर बन्छ,” उनले चेतावनी दिए।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, अन्य राजनीतिक दलका नेताहरू, गिरिजाप्रसाद कोइराला फाउन्डेसनका पदाधिकारी तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति थियो। वक्ताहरूले कोइरालाको योगदानको स्मरण गर्दै लोकतन्त्र, मानव अधिकार र शान्ति स्थापनामा उहाँको अग्रणी भूमिकाको चर्चा गरेका थिए।














