अध्यक्ष प्रचण्डद्वारा दक्षिण एशीयाली शारीरिक सुगठन प्रतियोगिता विजेता खेलाडीलाई बधाई

-


     हिडन खबर    
     असार १६ गते २०८२ मा प्रकाशित


काठमाडौं, असार १६ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुटानको थिम्पूमा सम्पन्न १५औं दक्षिण एशीयाली शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीहरूलाई बधाई दिएका छन्।

गत जुन ११ देखि १५ सम्म आयोजना भएको उक्त प्रतियोगितामा नेपाली टिमको उत्कृष्ट प्रदर्शनप्रति प्रसन्नता व्यक्त गर्दै अध्यक्ष प्रचण्डले विशेष रूपमा महिला एथलेटिक फिजिक समूहमा स्वर्ण पदक विजेता उर्मिला श्रेष्ठको प्रशंसा गरे।

“खेल, विशेषतः शारीरिक सुगठनजस्ता विधा राज्यको प्राथमिकतामा नपरेका क्षेत्र हुन्। अब राज्यले यसलाई प्राथमिकतामा राखेर आवश्यक सहयोग गर्नुपर्छ। म मेरो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,” अध्यक्ष प्रचण्डले भने।

प्रतियोगितामा नेपालले उल्लेखनीय सफलता हासिल गरेको छ। ५५ केजी तौल समूहमा सरद सुवालले रजत पदक जितेका छन्। महिला एथलेटिक फिजिक समूहमा उर्मिला श्रेष्ठले स्वर्ण पदक, शीला ठकुरीले रजत पदक जितेकी छन्। यस समूहमा भारतकी सारा काँस्य पदक विजेता बनेकी हुन्।

त्यस्तै, पुरुष स्पोर्ट्स फिजिक १७५ से.मी. मुनि समूहमा अवतार श्रेष्ठले रजत पदक जितेका छन् भने सोही विधाको १७५ से.मी. माथिको समूहमा प्रतिस्पर्धा गरेका प्रनिश श्रेष्ठले पाँचौँ स्थान प्राप्त गरेका छन्।

नेपाली खेलाडीहरूको मिहिनेत र समर्पणको खुलेर प्रशंसा गर्दै अध्यक्ष प्रचण्डले आगामी दिनमा शारीरिक सुगठनजस्ता खेललाई पनि राज्यले आवश्यक सम्मान र स्रोत–साधन उपलब्ध गराउनुपर्नेमा जोड दिए।