इरानमा रहेका नेपालीको उद्धार भारतीय दूतावासमार्फत हुने

-


     हिडन खबर    
     असार ७ गते २०८२ मा प्रकाशित


काठमाडौं, असार ७
इरान–इजरायल तनावका कारण इरानमा समस्यामा परेका नेपाली नागरिकको उद्धार भारतीय दूतावासमार्फत हुने भएको छ। नेपाल सरकारको अनुरोधमा इरानस्थित भारतीय दूतावासले उनीहरूको उद्धार प्रक्रिया अगाडि बढाउने भएको हो।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानमा रहेका १६ जना नेपालीको उद्धारका लागि भारत सरकारसँग अनुरोध गर्नुभएको थियो। उहाँले भारतीय राजदूत नविन श्रीवास्तवमार्फत उद्धारमा सहयोग गर्न आग्रह गर्नुभएको हो।

“इरानमा सानो संख्यामा नेपाली नागरिक हुनुहुन्छ,” मन्त्री डा. राणाले भन्नुभयो, “भारतले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीलाई पनि उद्धार गरिदिन आग्रह गरेको छु। हामी भारत सरकारको सहयोगको प्रतीक्षामा छौं।”

उद्धारका लागि मन्त्री राणाले भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मालाई आवश्यक समन्वय गर्न निर्देशन समेत दिनुभएको छ। त्यसपछि परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपाली नागरिकलाई भारतीय दूतावासको सम्पर्कमा जान अनुरोध गरेको छ। दूतावासले पनि सो सम्बन्धमा जानकारी सार्वजनिक गरेको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार इरानस्थित भारतीय दूतावासकी डिसिएम राखी मायुरीसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको छ। भारतीय दूतावासले इरानमा रहेका श्रीलंकाली नागरिकलाई पनि सम्पर्कमा आउन भनेको छ।

१६ जना नेपालीमध्ये पाँचजना अध्यागमनसम्बन्धी कानुनी समस्याका कारण इरानी जेलमा रहेका छन्। उनीहरूको पनि रिहाइका लागि पहल भइरहेको मन्त्रालयले जनाएको छ।