उदयमान कलाकार सुवास रेग्मीको ‘गोर्खा बजार’ सार्वजनिक

-


     हिडन खबर    
     असार ५ गते २०८२ मा प्रकाशित


गोरखा।
गोरखा जिल्ला, शहीद लखन गाउँपालिका–८ बुंकोटमा जन्मिएका उदयमान कलाकार सुवास रेग्मीले लामो संघर्षपछि आफ्नो पहिलो मौलिक गीत ‘गोर्खा बजार’ सार्वजनिक गरेका छन्। उनले उक्त गीत म्युजिक भिडियोसहित आफ्नै Subash Regmi युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।

गायक तथा मोडल सुवास रेग्मीकै संकलनमा बनेको गीतमा शब्द रमेश परियारले र लय धीरज पाल्पाली श्रेष्ठले तयार पारेका हुन्। गीतमा गायक सुवास रेग्मी र गायिका शान्ति श्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ।

भिडियोको निर्देशन मुकेश नेपालीले गरेका छन् भने सम्पादन राजकुमार मगरले गरेका छन्। भिडियोमा मोडल सुवास रेग्मी स्वयं र पछिल्लो समयकी चर्चित टिकटक क्रिएटर ममता राना मगरको आकर्षक अभिनय देख्न सकिन्छ।

करिब दुई दर्जनभन्दा बढी प्रत्यक्ष दोहोरी गीत गाइसकेका रेग्मीले विभिन्न टेलिभिजन च्यानल तथा संस्थागत कार्यक्रमहरूमा समेत सहभागिता जनाइसकेका छन्। संगीतलाई जीवनको अभिन्न अंश मानेका रेग्मी भन्छन्, “सफलता र चर्चा नपाए पनि मौलिक संस्कृतिको संरक्षण गर्दै नयाँ सिर्जनामा लागिरहने अठोट लिएको छु। गाउँको परिवेशलाई समेटेर मेरो जीवनको पहिलो अफिसियल गीत लिएर आएको छु। आशा छ, सम्पूर्ण नेपाली संगीतप्रेमीको साथ र समर्थन पाइनेछ।”