कालीगण्डकी संरक्षणका लागि देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा

-


     सुवास आचार्य     
     असार ४ गते २०८२ मा प्रकाशित


कालीगण्डकी नदीको संरक्षण र प्रचारप्रसारका लागि देवघाटबाट सुरु गरिएको ऐतिहासिक पदयात्रा बागलुङ हुँदै म्याग्दी प्रवेश गरेको छ। महेश सन्यास आश्रम, देवघाटधामको आयोजनामा सुरु भएको पदयात्राको उद्देश्य कालीगण्डकी नदीको धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्वबारे जनचेतना फैलाउनु हो।

टोलिले मंगलबार बागलुङको कालिका मन्दिर दर्शन गरेपछि बुधबार शालग्राम संरक्षणका लागि बागलुङ–४ कुँडुलेमा निर्मित शालग्राम संग्रहालय र श्री रंगवेङ्कटेश्वर मुक्तिनारायण मन्दिर अवलोकन गरेको थियो।

जेष्ठ २२ गतेदेखि सुरु भएको यो यात्रा २५ दिनमा ४३१ किलोमिटर दुरी पार गर्दै दामोदर कुण्डमा सम्पन्न हुनेछ। पदयात्रामा नेपाल तथा भारतका मठ–मन्दिरका साधु–सन्तसहित ६० जनाको सहभागिता छ।

महेश संस्कृत गुरुकुलका प्राचार्य तथा पदयात्राका संयोजक फणिन्द्रप्रसाद पौडेलका अनुसार, यो यात्रा राष्ट्रियता, संस्कृति र सनातन परम्पराको पहिचान उजागर गर्ने अभियान हो। कालीगण्डकीलाई मानव सभ्यता र आध्यात्मिक ऊर्जा बोकेको देवनदी मानिन्छ।

सरकारले विकासको नाममा नदी डाइभर्सनको योजना बनाएकोप्रति टोलीले चिन्ता व्यक्त गर्दै संरक्षणमा ध्यान दिन आग्रह गरेको छ। स्वामी ऋषी प्रपन्नाचार्यका अनुसार पदयात्राले कालीगण्डकी नदी र यस क्षेत्रका धार्मिक तिर्थस्थलहरूको संरक्षण तथा प्रचारमा टेवा पुर्‍याउनेछ।