अध्यक्ष प्रचण्डद्वारा मुस्ताङमा माओवादी केन्द्रको जिल्ला कार्यालयको शिलान्यास

-


     हिडन खबर    
     जेठ ३० गते २०८२ मा प्रकाशित


जोमसोम, मुस्ताङ, २९ जेठ
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङ जिल्लामा निर्माण गरिन लागेको पार्टीको जिल्ला कार्यालय भवनको शिलान्यास गर्नुभएको छ।

जोमसोममा आयोजित एक विशेष समारोहमा अध्यक्ष प्रचण्डले औपचारिक रूपमा शिलान्यास गर्दै पार्टी संगठनलाई सुदृढ बनाउन जिल्ला तहमा भौतिक संरचना आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले पार्टीको आफ्नै कार्यालय भवन निर्माण भएपछि जिल्लास्तरमा कार्यकर्ता तथा नेताहरूले जनताको पक्षमा अझ उत्साहपूर्वक र प्रभावकारी ढंगले काम गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।

शिलान्यास कार्यक्रममा मुस्ताङ क्षेत्रका स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै अन्य वक्ताहरूले पनि भौतिक संरचना निर्माणले पार्टीको संगठनात्मक गतिविधि सुदृढ हुने विश्वास व्यक्त गरे।

पार्टी स्रोतका अनुसार कार्यालय भवन आधुनिक सुविधासम्पन्न हुने र आगामी वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ।