
मुस्ताङ, जेठ २८
गणतन्त्र नेपालको प्रथम जननिर्वाचित पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङ जिल्लाका विभिन्न सरकारी कार्यालय प्रमुखहरूसँग विशेष अन्तरक्रिया गर्नुभएको छ।
मुस्ताङ जिल्लाको भ्रमणमा रहनुभएका अध्यक्ष दाहालले कार्यालय प्रमुखहरूसँगको छलफलमा स्थानीय प्रशासन, विकास निर्माण, सेवा प्रवाह तथा जनताको हितमा भइरहेका कार्यहरूको बारेमा जानकारी लिनुभएको थियो। अन्तरक्रिया कार्यक्रममा उहाँले मुस्ताङजस्तो भौगोलिक रूपमा विशिष्ट जिल्ला विकासका दृष्टिले अझ बढी प्राथमिकतामा पर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संघीयता कार्यान्वयन, सेवा प्रवाहमा पारदर्शिता, सुशासनको अभ्यास, र विकास योजनाको प्रभावकारी कार्यान्वयनमा सबै सरोकारवालाहरूको भूमिकाको महत्व उल्लेख गर्नुभयो। उहाँले स्थानीय निकाय र प्रशासनबीच सहकार्य, समन्वय र जनमुखी सेवा प्रवाहमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
साथै, अन्तरक्रिया कार्यक्रममा उपस्थित कार्यालय प्रमुखहरूले जिल्लामा भइरहेको सेवा प्रवाह, उपलब्धि र चुनौतीहरूबारे जानकारी गराउँदै, आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्न अध्यक्ष दाहालसँग सुझाव तथा सहयोगको अपेक्षा व्यक्त गरेका थिए।
अध्यक्ष दाहालको यो भ्रमणले स्थानीय प्रशासनलाई उत्साहित तुल्याएको र नीति निर्माण तहसम्म जिल्लाका मुद्दाहरू पुर्याउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ थियो।















