लोकतान्त्रिक निर्माण व्यवसायी संघ बागलुङको अध्यक्षमा विमलेश आचार्य चयन

-


     हिडन खबर    
     जेठ २५ गते २०८२ मा प्रकाशित


बागलुङ, जेठ २४ —
नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ बागलुङको प्रथम अधिवेशनबाट विमलेश आचार्य सर्वसम्मत रूपमा संघको अध्यक्षमा चयन भएका छन्। नेपाली कांग्रेसको शुभेच्छुक संस्थाका रूपमा क्रियाशील यस संघको शनिबार बागलुङमा सम्पन्न अधिवेशनले आचार्यको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो।

निर्वाचन समितिका संयोजक सुरेश श्रेष्ठ तथा सदस्यहरू युवराज राजभण्डारी र रामराज गुरुङले सर्वसम्मत कार्यसमिति घोषणा गरेका हुन्।

निर्वाचित कार्यसमितिमा उपाध्यक्ष ध्रुव खड्का र खुमबहादुर अदै, महासचिव नारायण पौडेल, उपमहासचिव मनोज खड्का र दीपक पौडेल तथा कोषाध्यक्षमा खिमबहादुर पुन रहेका छन्।
त्यस्तै, सदस्यहरूमा इन्जिनियर रमेश अर्याल, किस्मत केसी, दीपक कँडेल, पृथ्वी सुवेदी, शालीग्राम उपाध्याय र क्षेत्रबहादुर कार्की चयन भएका छन्।

“देशको भविष्य निर्माण व्यवसायीको हातमा छ” – नगरप्रमुख श्रेष्ठ

संघको अधिवेशन उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख तथा नेपाली कांग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठले निर्माण व्यवसायीहरूको भूमिकालाई अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे।

“विकास निर्माण कार्यहरू गर्ने जिम्मेवारी निर्माण व्यवसायीको काँधमा हुन्छ,” उनले भने, “त्यसैले पालिका, जिल्ला हुँदै राष्ट्रको भविष्य निर्माण व्यवसायीको हातमै रहेको हुन्छ।”
श्रेष्ठले समयमा काम सम्पन्न नगर्दा समस्या उत्पन्न हुने भन्दै गुणस्तरीय र समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरे।

उनले नगरभित्रका केहि निर्माण परियोजनाहरूमा ढिलाइ भएको उल्लेख गर्दै भने, “मध्यपहाडी लोकमार्गको ठेक्का सम्झौता तोड्ने अवस्था आएको छ, नगर अस्पतालको काम अझै सम्पन्न हुन सकेको छैन। यता विश्व बैंकको ‘न्यूजिप’ कार्यक्रम अन्तर्गतका सडकहरू भने अपेक्षा गरिएभन्दा चाँडो सम्पन्न भएका छन्। यसले निर्माण व्यवसायीले चाहेमा समयमै काम सक्न सकिन्छ भन्ने देखाएको छ।”

श्रेष्ठले स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट गुणस्तरीय निर्माण कार्य गर्न व्यवसायीहरूलाई सुझाव दिए। “निर्माण व्यवसायीहरूको पनि आ–आफ्नै चुनौती छन् होला, तर स्वस्थ प्रतिस्पर्धामार्फत काम अगाडि बढाउनुभयो भने देशकै विकासमा टेवा पुग्छ,” उनले स्पष्ट पारे।

शुभकामना मन्तव्य र कार्यक्रमको समापन

अधिवेशनमा लोकतान्त्रिक निर्माण व्यवसायी संघका केन्द्रीय सहसंयोजक खिमप्रकाश मल्ल, काठमाडौं उपत्यका सहसंयोजक राजेन्द्र पहारी, गण्डकी प्रदेश संयोजक सुरेश श्रेष्ठ, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य युवराज राजभण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रम बागलुङ संयोजक विमलेश आचार्यको अध्यक्षता र रामराज गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो।