
काठमाडौंस्थित एन्जल्स हार्ट स्कुलले बागलुङ जिल्लाका चार जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न अवसर दिने भएको छ। विद्यालयले छात्रहरूलाई बसोबास र भोजनसहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न वातावरण तयार गरेको जनाएको छ।
छात्रवृत्तिका लागि परीक्षा लिइनेछ र उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई छनोट गरिने विद्यालयका उप–प्राचार्य दिल बुढाथोकीले जानकारी दिए। उनका अनुसार, यो अवसर यस वर्षको एसईई परीक्षा दिएका विद्यार्थीहरूका लागि हो।
उप–प्राचार्य बुढाथोकीले भने, “एन्जल्स हार्ट स्कुलमा धौलागिरी क्षेत्रका धेरै लगानीकर्ता छन्। सामाजिक उत्तरदायित्वअन्तर्गत हामीले आफ्नो गाउँ–ठाउँका विद्यार्थीका लागि यो अभियान सञ्चालन गरेका हौं।”
उनका अनुसार, यसपटक बागलुङबाट चार जना, पर्वत र म्याग्दीबाट दुई–दुई जना गरी कूल आठ जना विद्यार्थीलाई छात्रवृत्तिमा अध्ययन गराइनेछ। बागलुङ बजार क्षेत्रमा एक छात्र र एक छात्रा तथा बुर्तिबाङ र गलकोट क्षेत्रबाट एक–एक जना छात्रा छनोट गरिनेछ।
“पश्चिम बागलुङ क्षेत्रलाई पनि समेट्न हामीले यसपटक बजार क्षेत्र, बुर्तिबाङ र गलकोट गरी फरक–फरक स्थानमा परीक्षा सञ्चालन गर्दैछौं,” उनले भने, “छात्रवृत्तिमा छनोट हुने विद्यार्थीले होस्टेलमा बस्ने, खाने तथा पठन–पाठन सम्बन्धी कुनै पनि खर्च तिर्नु पर्ने छैन। सबै खर्च विद्यालयले व्यहोर्नेछ।”
परीक्षाको तालिका यस प्रकार छ:
बागलुङ बजार: गोल्डेनगेट एजुकेशन सेन्टरमा बिहीबार, न्यू धौलागिरी मोर्डन एजुकेशन सेन्टरमा शुक्रबार बिहान।
बुर्तिबाङ बजार: जेठ २४ गते बिहान।
गलकोट हटिया: जेठ २५ गते।
म्याग्दी दरबाङ: जेठ २६ गते।
कुस्मा बजार: जेठ २३ गते बिहान १० बजे।
१७ वर्षअघि स्थापना भएको एन्जल्स हार्ट एजुकेशन फाउन्डेसन अन्तर्गत एन्जल्स हार्ट मावि, प्लस टु कलेज, नेशनल स्कुल, किड्स मोंटेश्वरी, वेलहाम्स कलेज, तेजश्वी एकेडेमी लगायत दर्जनौं शिक्षण संस्था सञ्चालनमा छन्।









