
काठमाडौं, २१ जेठ – नेपाली चलचित्र *‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’*को भावुक गीत ‘आमा’ सार्वजनिक गरिएको छ। गीतमा अर्जुन पोखरेलको शब्द, संगीत र स्वर रहेको छ भने मनिषा सुनारको साथ स्वर रहेको छ।
सार्वजनिक गीतमा आमाको ऋण तिर्न राजधानी आएको छोराको संघर्ष, आशा, निराशा र भावनात्मक पीडा समेटिएको छ। काठमाडौं सजिलो होला भन्ने सपना बोकेर आएकाहरूले भोग्ने यथार्थ, आमाप्रतिको माया र असहायपन गीतमा उजागर गरिएको छ।
“समय रोकिए हुन्थ्यो”, “आमालाई चाँडै नलैजाओस्” भन्ने झल्को दिने शब्दहरूले दर्शक–श्रोताको मन छोएको छ। गीतले चलचित्रको कथावस्तु अझ प्रस्ट पारेको छ – आमा र छोराबीचको भावनात्मक सम्बन्ध।
गीतको भिडियोमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, कविता आलेलगायत कलाकारको अभिनय देख्न सकिन्छ।
चलचित्र भदौ ६ गते प्रदर्शनमा आउँदैछ। पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको यो फिल्म पेपरक्लिप ब्यानरमा निर्माण भएको हो। निर्देशक हिमाल न्यौपाने र सह–निर्देशक मनिष राउत रहेका छन्।
विजय बराललाई ‘एपिक नेचुरल स्टार’को ट्याग दिइएको यस चलचित्रमा केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, कविता आले लगायतको मुख्य भूमिका छ।
संगीतमा अर्जुन पोखरेल, थानेश्वर गौतम, एसडी योगी र प्रसान्त सिवाकोटी छन्। कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्।वितरणको जिम्मा काफिया फिल्म्सले लिएको छ।
Video Link-












