
हिड्नखबर डट्कम
काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’ को शुभमुहूर्त सम्पन्न गरिएको छ। काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा मंगलबार निर्माण टिमले विधिपूर्वक शुभमुहूर्त गरेको हो।
शुभमुहूर्त कार्यक्रममा चलचित्रका मुख्य कलाकार तथा प्राविधिकहरू सहभागी थिए। शुभमुहूर्तपछिको छायांकन यही जेठ २२ गते (बिहीबार) बाट सुरु हुने निर्माण पक्षले जानकारी दिएको छ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा छायांकन हुने यस चलचित्रका लागि २० दिने सुटिङ तालिका तय गरिएको छ।
चलचित्रको निर्देशन बलिराम चौहानले गर्दैछन्। चलचित्र ‘बलिदान’ का लेखक तथा मुख्य सहायक निर्देशक रहेका चौहानको यो निर्देशन डेब्यु हो।
चलचित्रको थिम पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ। निलो रङले घेरेको रहस्यमय वातावरणमा एक बालिका उभिएको देखिने पोस्टरले चलचित्रको मनोवैज्ञानिक पृष्ठभूमिको संकेत गर्दछ।
मुख्य भूमिकामा अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र सुरक्षा इटानी रहेका छन्। बाल कलाकारका रूपमा ग्रिस्मा कटुवाल र सहारा शर्मा रहेका छन्।
साइकोलोजिकल थ्रिलर विधामा निर्माण हुने ‘द ब्ल्यू लाइट’ लाई स्काइफल पिक्चर्सले प्रस्तुत गर्दैछ। चलचित्रका सह-निर्माता रमन ग्रे हुन् भने छायांकन नरेन्द्र मैनालीले गर्नेछन्।
मुख्य सहायक निर्देशकमा आकाश उखेडा, प्रोडक्सन डिजाइनरमा रेलिजा श्रेष्ठ तथा निर्माण नियन्त्रकमा दिलीप पन्त रहेका छन्।
निर्देशक चौहानले चलचित्रको कथावस्तु हाललाई गोप्य राखिएको बताउँदै भने, “विस्तारै प्रचार सामग्रीमार्फत हामी कथावस्तुबारे जानकारी दिँदै जानेछौं। यो विधाकै उत्कृष्ट सिनेमा बनाउने हाम्रो लक्ष्य छ।”
‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै प्रदर्शनमा ल्याउने योजना रहेको निर्देशक चौहानले जानकारी दिए।















