
हिड्न खबर डटकम
१७ जेठ २०८२, नुवाकोट — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटस्थित ऐतिहासिक साततले दरबारको स्थलगत अवलोकन गर्नुभएको छ।
२०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको यो ऐतिहासिक दरबार पुनर्निर्माणमा लामो समयसम्म ढिलाइ भइरहेका बेला अध्यक्ष प्रचण्ड प्रधानमन्त्री रहँदा उहाँकै विशेष पहलमा पुनर्निर्माणको काम अघि बढाइएको थियो।
प्रचण्डको यो अवलोकन भ्रमणलाई दरबार पुनर्निर्माण र समग्र सांस्कृतिक सम्पदा संरक्षणप्रतिको गम्भीर चासोका रूपमा लिइएको छ। स्थानीयवासी तथा सरोकारवाला निकायहरूले उहाँको भ्रमणलाई सकारात्मक रूपमा लिँदै पुनर्निर्माण कार्यलाई अझ तीव्रता दिने अपेक्षा व्यक्त गरेका छन्।
साततले दरबार नेपाली इतिहास, संस्कृति र वास्तुकलाको अद्वितीय प्रतीकका रूपमा चिनिन्छ। यो दरबार राजशाहीकालदेखि नै नुवाकोट क्षेत्रको राजनीतिक, प्रशासनिक र सांस्कृतिक केन्द्रको रूपमा रहँदै आएको छ।
यसअघि पनि प्रचण्डले विभिन्न ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षणमा विशेष चासो दिँदै आएका छन्। भूकम्पपछि पुनर्निर्माणमा सुस्तता देखिएको अवस्थामा उनका तर्फबाट देखिएको सक्रियता पुनर्निर्माण अभियानलाई टेवा पुग्ने विश्वास गरिएको छ।












