‘द ब्ल्यू लाइट’मा अर्पण थापा अनुबन्धित, छायांकन जेठ २१ देखि सुरु

-


     हिडन खबर    
     जेठ १५ गते २०८२ मा प्रकाशित


हिड्न खबर डट्कम

काठमाडौं — केही दिनअघि थिम पोस्टर सार्वजनिक गर्दै घोषणा गरिएको चलचित्र ‘द ब्ल्यू लाइट’ मा अभिनेता अर्पण थापा प्रमुख भूमिकामा अनुबन्धित भएका छन्।

साइकोलोजिकल थ्रिलर विधामा निर्माण हुने चलचित्रलाई बलिराम चौहानले निर्देशन गर्नेछन्। चलचित्र ‘बलिदान’ का लेखक तथा मुख्य सहायक निर्देशक रहेका चौहानको यो निर्देशन डेब्यु हो।

‘द ब्ल्यू लाइट’ मा थापालाई मंगलवार औपचारिक रूपमा अनुबन्धित गरिएको निर्माण टिमले जानकारी दिएको छ। स्काइफल पिक्चर्सको प्रस्तुति रहने चलचित्रमा रमन ग्रे सह–निर्माता रहनेछन्।

चलचित्रको छायांकन जेठ २१ गतेदेखि सुरु हुने भएको छ। नरेन्द्र मैनालीले छायांकन गर्नेछन्।

यसअघि सार्वजनिक गरिएको थिम पोस्टरमा निलो प्रकाशले घेरिएको वातावरणबीच उभिएकी एक बालिकाको अधकट्टी आकृति देखिन्छ। बालिकाको जुङरुङ्ग कपाल र विछिप्त मुद्राले चलचित्रको रहस्यमय तथा मनोवैज्ञानिक पृष्ठभूमि झल्किन्छ।

निर्देशक चौहानले कथावस्तु र अन्य कलाकारको विवरण हाललाई गोप्य राखिएको र चाँडै कलाकारहरूको पूर्ण सूची सार्वजनिक गरिने बताएका छन्। चलचित्र सन् २०२५ भित्रै प्रदर्शनमा ल्याइने निर्माण पक्षले जनाएको छ।