कोटिहोममा भक्तजन र दानवीरहरूको उल्लेखनीय सहभागिता

-


     हिडन खबर    
     जेठ १४ गते २०८२ मा प्रकाशित


पोखरा – पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको उत्तरार्धतिर जाँदा भक्तजन र दानवीरहरूको उपस्थिति उल्लेखनीय रूपमा बढ्दो छ।

प्रवचन, भजन, हवन, वक्तृत्वकला प्रतियोगिता लगायतका आध्यात्मिक गतिविधिले कोटिहोमलाई धार्मिक, सांस्कृतिक र सामाजिक केन्द्रमा रूपान्तरण गरेको छ। देश–विदेशबाट आएका साधु–सन्त, महन्तहरूका सन्देशले श्रद्धालुहरूमा उत्साह थपेको छ।

महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयकृष्णमूर्तिजी महाराजको प्रेरणाले उनका गाउँ धुर्कोटका जनप्रतिनिधिहरूदेखि विद्यालयका प्रतिनिधिसम्मको सहभागिता देखिएको छ। बागलुङकी बढिगाउँ गाउँपालिका अध्यक्ष गण्डकी थापाले २ लाख १ हजार १ सय १२ रुपैयाँ सहयोग गर्दै दुई अनाथ बालबालिकाको अभिभावकत्व ग्रहण गरेकी छन्।

कोटिहोममा हालसम्म विभिन्न व्यक्ति र संस्थाबाट लाखौं रुपैयाँको दान प्राप्त भएको छ। राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगितामा देशभरका विद्यालयबाट विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको छ। ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा आयोजित प्रतियोगितामा ९० जना सहभागी छन्।

महायज्ञमा देवी प्रतिभा, प्रशान्त कृष्ण परांकुश, दिनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराजलगायत विद्वानहरूको दिव्य प्रवचन भइरहेको छ। साथै, भजन, झाँकी, देवलीला, नृत्यजस्ता सांस्कृतिक कार्यक्रमहरू पनि निरन्तर चलिरहेका छन्।

मानव सेवा फाउन्डेसनको आयोजनामा चलिरहेको कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रममार्फत ललितपुर र भक्तपुरका आश्रम निर्माणका लागि सहयोग संकलन भइरहेको छ।

कोटिहोममा हरेक दिन ४ सयभन्दा बढी ब्राह्मणद्वारा आहुति अर्पण, तुला दान, विवाह, व्रतबन्ध, ग्रहशान्ति, भागवत कथा, रुद्राभिषेक, हनुमान चालिसा, २१ कोटि दीप प्रज्वलनलगायत विविध आध्यात्मिक कर्मको व्यवस्था गरिएको छ।