
काठमाडौं । नेपाली चलचित्र ‘महाराजधिराज’ मा अभिनेता पुष्प खड्का अनुबन्धित भएका छन्। केही समयदेखि ठूलो पर्दाबाट टाढिएका खड्का यो चलचित्रमार्फत पुनः दर्शकमाझ फर्किन लागेका हुन्।
स्टारकास्ट थप्ने कार्यलाई निरन्तरता दिँदै ‘महाराजधिराज’ टिमले उनलाई आइतबार औपचारिक रूपमा अनुबन्ध गरेको हो। हालसम्म सार्वजनिक भएका कलाकारहरूको सूचीले चलचित्र फरक स्वादको कथावस्तुमा आधारित हुने संकेत गरेको छ। यसमा पुराना र नयाँ पुस्ताका कलाकारहरूको सशक्त मिश्रण देखिनेछ।
चलचित्रमा आफूले निभाउने भूमिका विशेष र महत्वपूर्ण रहेको बताउँदै खड्का निकै उत्साहित देखिएका छन्। उनले यो सिनेमाले आफ्नो अभिनय यात्रा नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।
‘महाराजधिराज’ मा यसअघि नै आर्यन सिक्देल, रमेश उप्रेती र पल शाह अनुबन्ध भइसकेका छन्। महिला कलाकारतर्फ वर्षा राउत र वर्षा शिवाकोटीको नाम फाइनल भएको छ।
चलचित्रको निर्देशन परिच्छेद सेनले गर्ने छन्, जसको लेखन पनि उनैको रहेको छ। सेन निर्देशित अघिल्लो चलचित्र ‘प्रेमगञ्ज’ समीक्षात्मक रूपमा प्रशंसित बनेको थियो।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रका प्रस्तुतकर्ता विराज बिष्ट हुन्। उनले निर्माण गरेको अघिल्लो चलचित्र ‘बुलाकी’ ले राष्ट्रिय अवार्ड समेत जितेको थियो। निर्माताहरूमा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहेका छन्।
‘महाराजधिराज’ आगामी फूलपातीको अवसरमा देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ।









